भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफले अठारौं सार्क शिखर सम्मेलनमा हात मिलाएकै दिन भारती–पाकिस्तान सीमान जम्मु काश्मीरमा भीषण लडाई भएको छ।
बिबिसीले जनाएअनुसार उग्रवादीसँगको गोली हानाहानमा ११ जनाको ज्यान गएको छ। बुधवारदेखि सुरु भएको भीडन्त शुक्रवारसम्म पनि छिटफुट जारी रहेको त्यहाँका सुरक्षाकर्मीले जनाएका छन्।
भारतले आफ्नो भूमि दावी गर्दै नियन्त्रणमा राखेको काश्मिरको अर्निया नगरस्थित एक भारतीय सैनिक शिविरमा उग्रवादीहरूले आक्रमण सुरु गरेका थिए। त्यसपछि भएको गोलीवारीमा अहिलेसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ। मारिनेहरूमा चारजना भारतीय सेना, चारजना उग्रवादी तथा ३ जना सर्वसाधारण नागरिक छन्।
लडाई भएको यो सैन्य शिविरदेखि करिब चार किलोमीटर पर अर्न्तराष्ट्रिय समुदायले मान्यता दिएको पाकिस्तान—भारत सीमा छ।
यी उग्रवादी लडाकूहरू पाकिस्तानबाट भारततर्फ प्रवेश गरेको आशङ्का त्यहाँका सुरक्षा निकायले गरेका छन्। गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानको इसारामा काश्मिरको चुनाव प्रभाव पार्नका लागि उग्रवादीहरूले त्यहाँ हमला गरेको आरोप लगाएका छन्।
आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ आयोजना हुन लागेको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। त्यो सभाका लागि सबै सुरक्षा निकाय त्यहाँ परिचालन भएका थिए। तर, चुनावी कार्यक्रम हुनुभन्दा केही घण्टा पहिला नै त्यहाँ भीषण लडाई भएको छ।
मोदीले त्यहाँको उद्यमपुर नगरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। हाल यस हिमाली क्षेत्रमा निर्वाचन भइरहेको छ। प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टीले यस निर्वाचनमा यस मुसलमान बाहुल्य भएको राज्यमा पहिलोपटक विजय हासिल गर्न प्रयास गरिरहेको छ।
पारमाणविक हतियारसम्पन्न भारत तथा पाकिस्तानले बेलायतबाट स्वतन्त्र भएपछि गरेका तीन युद्धमध्ये दुई कश्मीरकै विषयमा भएका छन्। पर्यटकीय क्षेत्र कश्मीरका भागलाई पाकिस्तान तथा भारत दुवैले नियन्त्रणमा लिएका छन् र दुवैले सम्पूर्ण भू¬–भाग आफ्नो भएको दाबी गरेका छन्।
राज्यका मुख्यमन्त्री ओमार अब्दुल्लाहले आक्रमणको समय सही नभएको बताएका छन् र उनले भनेका छन् 'यो आक्रमणलाई 'समय संयोग मात्रै भन्न मिल्दैन।'
गत अक्टोबर महिनामा यस क्षेत्रमा भारतीय तथा पाकिस्तानी सेनाबीच गहन रूपमा मोर्टार हानाहान भएको थियो।
धेरै वर्षपछि भएको उक्त भिडन्तमा २० सामान्य नागरिकको मृत्यु भएको थियो भने दुवै पक्षमा दर्जनौँ व्यक्ति घाइते भएका थिए। सन् १९८९ मा दुई मुलुकबीच सङ्घर्ष भएपछि यस क्षेत्रलाई पाकिस्तानी भू–भागसँग गाभ्न चाहने वा स्वतन्त्रता चाहने विद्रोही समूह तथा भारतीय सेनाको लडाईमा दशौँ हजार व्यक्ति मारिएका छन्। यसरी मारिनेमा प्रायः सामान्य नागरिक भएको विभिन्न मानवअधिकारवादी संगठनहरूको भनाई छ।