राप्रपा नेपालका असन्तुष्ट पक्षका नेताहरू पद्मसुन्दर लावतीबाबु छोरालाई संस्थापन पक्षले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ।
राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
'पार्टी र पार्टी नेतृत्वप्रति भ्रम फैलाउने, पार्टीको नाम र झण्डाको दुरुपयोग गरी पार्टीको नामबाट समानान्तर भेला गर्ने, कार्यालय खोल्ने र साँगठनिक अभ्यास गर्ने, पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरी सकेका व्यक्तिहरुसँग अप्राकृतिक साँठगाँठ गरी पार्टीको महाधिबेशनको मार्ग निर्देश विपरित जाने, पार्टीबाट माग भएको स्पष्टीकरण समेत पेश नगरी अलग राजनीतिक दल खोल्ने समेतको सार्वजनिक अभिब्यक्ति दिई अराजनीतिक र पार्टी हित विपरितका क्रियाकलापमा प्रत्यक्ष संलग्नता देखिएकाले कारबाही गरिएको उल्लेख छ।
'पद्मसुन्दर लावती र पार्टीका केन्द्रीय सदस्य सगुनसुन्दर लावतीलाई अनुशासन समितिको सिफारिसमा पार्टीको विधान अनुसार साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ,' आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साथै सगुनसुन्दर लावतीले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको सभापति पदबाट पदमुक्त भईसकेपछि पनि पदको दुरुपयोग गरी संगठनको खाताबाट अनधिकृत रुपमा रकम निकाली लाखौंको आर्थिक अनियमितता समेत गरेको देखिएकाले सो रकम समेत अविलम्ब फिर्ता गर्न भनेको छ।