संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले दलहरुबीचको सहमतिबेगर संवाद समितिमा देखिएको गतिरोध अन्त्य गर्न आफू असमर्थ रहेको बताएका छन्। सोमबार एमाओवादीसहित २२ दलले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा पत्रकारको प्रश्नमा सभापति भट्टराईले दलहरुबीच सहमति भएपछि मात्रै आफूले सोहीबमोजिम प्रतिवेदन पठाउने स्पष्ट पारे।
दलहरुबीच सहमति नभएपछि आइतबारका लागि बोलाइएको बैठक स्थगित भएपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भएको छलफलको निष्कर्षका रुपमा सभापति भट्टराईले दलहरुबीचको सहमतिबेगर आफूले मात्रै केही गर्न नसक्ने बताए।
‘संविधानसभाका अध्यक्षसँग भेटेर सहमति नै भएन भने के गर्ने? अनन्तकालसम्म प्रतिवेदन रोक्न पनि मिल्दैन, के गरौं? कि म आफैंले आफ्नो तर्फबाट प्रतिवेदन पठाउँदा हुन्छ त? त्यसको केही उपाय छ? भनेर मैले प्रश्न राखें किनकी कार्यविधिको व्याख्या गर्ने अधिकार सभाध्यक्षलाई दिइएको छ’, सभापति भट्टराईले भने – ‘तर उहाँले त्यसो गर्न मिल्दैन, त्यसले झन् जटीलता सिर्जना गर्छ त्यसो नगरौं भन्नुभयो । त्यसैले मेरो हात नियमावलीले बाँधेको छ । त्यसैले जतिबेलासम्म सहमति बन्दैन त्यतिबेलासम्म म कुनै पनि निर्णय गर्न असमर्थ छु।’
सभापति भट्टराईले दलहरुले अन्तरबस्तुमा अथवा प्रक्रियामा सहमति गरेपछि तत्काल संवाद समितिको बैठक बोलाएर प्रतिवेदन पठाउने पनि स्पष्ट पारे। दलहरुले जहिले, जुन विषयमा सहमति गर्छन् त्यसैमा नै आफूले हस्ताक्षर गरेर पठाउने कुरालाई सभापति भट्टराईले पुन: दोहोर्याएका थिए।
पत्रकारको जिज्ञासामा सभापति भट्टराईले आफ्नो पार्टी सहभागी कार्यक्रमहरुमा व्यक्तिगत सहभागिता जनाए पनि आफूले सम्बोधन गर्ने नगरेको उल्लेख गर्दै सभापतिको निष्पक्षता कायम गरेको स्पष्ट पारे।