प्रमुख राजनीतिक दलहरुबीच संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक स्थगित भएको छ।
संविधानसभामा पठाउने प्रतिवेदनका विषयमा तत्काल दलहरुबीच सहमति बन्न नसकेपछि छलफल जारी राख्ने गरी संवाद समितिको बैठक स्थगित गरिएको हो। शनिबार साँझ प्रमुख तीन दलको बैठकमा भएको छलफलबमोजिम आजका लागि बैठक बोलाइएको थियो तर, दलहरु अन्तिम निष्कर्षमा पुग्न नसकेपछि बैठक स्थगित गरिएको हो।
‘सहमति नहुने भएपछि बैठकमा विवाद मात्रै चर्काएर केही अर्थ रहँदैन भनेर आजको बैठकलाई स्थगित गरिएको छ’, संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले भने ‘दलका नेताहरु जेमा, जतिबेला सहमति गरेर आउनुहुन्छ, मैले त मध्यमार्गी भूमिका मात्रै खेल्ने हो, मैले त्यसमा हस्ताक्षर गरेर पठाउँछु।’
‘संविधानसभाका अध्यक्षले समितिबाट पठाएका कुराहरु एउटा विवरणमात्रै हुन्छ कुनै प्रस्ताव हुँदैन कुनै मतदान पनि हुँदैन त्यसो भएको हुनाले तपाईंहरुले विश्वासको वातावरण बनाएर प्रतिवेदन पठाउँदा हुन्छ भन्नुभयो’, शनिबार साँझ प्रमुख दलहरुको बैठकका विषयमा सभापति भट्टराईले भनेका थिए ‘त्यसपछि विषयमा सहमति हुन सकेन, प्रश्नावली निर्माण गर्न पनि सकिएन र यहाँ प्रस्तुत गरिएका विचारहरु (अनुसूची तपशील केही पनि नभनी) यसैसाथ संलग्न गरी पठाइएको छ भनौं न त भन्ने कुरा त्यहाँ उठ्यो। सायद यो कुरा पनि मध्यमार्गी हुन सक्छ कि त भन्ने भयो।’
शनिबार बेलुका प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संवाद समितिका सभापति डा. बाबुराम भट्टराईसहित प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो।
शनिबारको बैठकका बारेमा सभापति भट्टराईले बताए ‘कमरेड प्रचण्डले संविधानसभाभित्रका २० दलसँग पनि सहमति बनाउनुपर्छ, हामीले मात्रै गर्दा उपयुक्त हुँदैन। यो नयाँ प्रस्ताव पनि आयो यो विषयमा २० दलको बैठक बोलाएर राख्छु र त्यसपछि नै टुंगो लगाउँ भन्नुभयो।’
‘अहिले विहान २० दलको बैठक बसेपछि कमरेड प्रचण्डले १९ दलले नै अनुसूचीमा राखेर जानेबाहेक अन्य कुरा गर्नु उपयुक्त हुँदैन भनेको कुरा रिपोर्ट गर्नुभयो’, सभापति भट्टराईले भने ‘त्यसपछि मैले प्रमुख दलका नेताहरुलाई बोलाएर सहमति निर्माण गरौं न त भनेर कुराहरु राखें तर त्यसमा तुरुन्तै सहमति हुनेजस्तो देखा परेन। त्यसो भएको हुनाले थप छलफल गरौं, सहमतिविना बैठक राखेर पनि उपयुक्त हुँदैन भनेर केपी ओलीजीले पनि सहमति जति बेला हुन्छ त्यतिबेलै बैठक राख्नुहोला भनेर जानुभयो ।’
सभापति भट्टराईले फेरि पनि संवाद र सहमतिको प्रयास जारी रहने बताउँदै यो गतिरोध छिटो फुकोस् भन्ने आफूले चाहेको बताए।