सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले अहिलेकै अवस्थामा माघ ८ गतेभित्र सहमतिका आधारमा संविधान आउने सम्भावना नरहेको बताएका छन्।
जिविस कैलालीका पूर्व सभापति तथा पार्टी नेता लसिराम चौधरीको श्रद्धाञ्जली सभामा सहभागी हुन धनगढी पुगेका राणाले सत्ता पक्ष र २२ दलकाबीच अविश्वासको खाडल बढ्दै गएकाले सहमतिका आधारमा संविधान आउने सम्भावना नरहेको बताएका हुन्।
'दुई पक्षबीचको अविश्वास बढ्दै गएको छ' उनले भने–'अहिलेकै अवस्थामा म तपाईहरुलाई माघ ८ गते भित्रै संविधान आउँछ भनेर भन्न सक्दैन।'
उनले माघ ८ गते भित्र संविधान नआए पनि सहमतिको ड्राफ्ट सम्म भएपनि आओस् भन्ने आफ्नो चाहना रहेको भन्दै दलहरुले जस्तोसुकै गाह्रो अवस्था आए पनि सहमतिको बाटो छोड्न नहुने बताए।
उनले राजनीतिक दलहरुले सहमतिकै आधारमा अघि बढेर मुलुकलाई सम्वृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन्।
दलहरुबीचको अविश्वासलाई कम गर्दै सहमतिको बाटोमा हिँडाउन आफूले पहल गर्ने बताउँदै राणाले सहमतिकै आधारमा अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
उनले सत्तारुढ मुख्य दलको सात प्रदेशको प्रस्ताव नै अन्तिम नभएको बताउँदै यस बारेमा पुर्नविचार गर्न सकिने बताएका छन्। उनले सात प्रदेशको प्रस्ताव सहमतिकै प्रयासका लागि अघि आएको बताए।
'काँग्रेस एमालेको प्रस्ताव नै अन्तिम हैन। यस बारेमा छलफल होस् भनेर नै अघि ल्याईएको हो' उनले भने–'संख्यामा तलमाथि हुन्छ, हुनु पनि पर्छ। यस बारेमा हामी पहल गर्छौ।'
उनले काँग्रेस एमालेको सात प्रदेशलाई सत्तापक्षले दुई तिहाईका आधारमा संविधान जारी गर्न खोजेको रुपमा नबुझ्न आग्रह गर्दै सहमतिकै आधारमा सर्वसम्मत संविधान जारी हुने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीका अध्यक्ष मीनबहादुर खत्रीको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा पार्टीका सहमहामन्त्रीद्वउ धर्मराज जोशी र भुवन पाठकका साथै जिल्ला सचिव बीरेन्द्र बम लगायतले बोलेका थिए।
बसौटी गाविसका स्थायी बासिन्दा स्वर्गीय चौधरीको ७५ वर्षको उमेरमा निधन भएको थियो। उनी विक्रम सम्वत २०३९ सालमा जिल्ला पञ्चायत कैलालीको सभापति भएका थिए।