दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आउने राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सबैभन्दा कोर सुरक्षाको जिम्मा नेपाली सेनाको विशेष सुरक्षा बलका सैनिकहरुले लिएका छन्। सेतोपाटीलाई प्राप्त जानकारी अनुसार भीभीआईपीको सुरक्षाका लागि नेपाली सेनामा गणस्तरमा विशेष सुरक्षा बल नै रहेको छ।
नारायणहिटी दरबारस्थित बलमा भीभीआईपी सुरक्षा र सवारी सञ्चालनका लागि आधुनिक तथा विशेष तालिम प्राप्त सैनिकहरु आवद्ध हुन्छन्। यस बललाई महासेनानी विनोद पाण्डेले कमान्ड गर्दै आइरहेका छन्। विशेष सुरक्षा बलले नेपालका राष्ट्रपति र उपराष्ट्रपतिको सुरक्षा जिम्मेवारी निर्वाह गरिरहेको छ।
नेपाल गणतन्त्रमा प्रवेश गर्नु अघि यस बलको नाम शाही सैनिक प्रहरीका नामले कार्यरत थियो। जसले राजा रानी र राजपरिबारका सदस्यहरुको सुरक्षा तथा सवारी सम्बन्धी सम्पूर्ण जिम्मेवारी निर्वाह गर्दथ्यो।
महासेनानी पाण्डेले नै सार्क अवधिभर सार्क भीभीआईपी पाहुनाको कोर सुरक्षा समन्वयको जिम्मेवारी पाएका छन्। उनकै कमाण्डमा रहने गरी सार्कका राष्ट्र तथा सरकार प्रमुखहरु र तीनका श्रीमतीलाई विशेष तालिम प्राप्त र अनुभवी एडीसीहरु खटाइएको छ।
अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीका लागि मेजर भूदिपराज कणेल र श्रीमती घानीका लागि क्याप्टेन सुचित्रा थापा एडीसी रहने छन्। त्यस्तै वंगलादेशकी प्रधानमन्त्री शैख हसिनाका लागि क्याप्टेन सुजन गुरुङ, भुटानका प्रधानमन्त्री ल्योन्छेन छिरिङ टोव्गेका लागि क्याप्टेन सुरजकुमार ओझाले एडीसीको जिम्मेवारी पाएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि मेजर महेश शाह एडीसी खटाएको छ। यसअघि गत साउनमा मोदी काठमाडौं भ्रमणमा आउँदा महासेनानी पाण्डे स्वय मुख्य एडीसीका रुपमा खटिएका थिए।
माल्दिभ्सका राष्ट्रपति अव्दुल्ला यमीन अब्दुल गयुमका लागि क्याप्टेन दिनेश न्यौपाने र श्रीमती गयुमका लागि क्याप्टेन रोजिना अधिकारी एडीसी रहने छन्।
त्यस्तै पाकिस्तानका प्रधानमन्त्री मुहम्मद नवाज सरिफका लागि मेजर रुपककुमार थापा र श्रीमती सरिफका लागि क्याप्टेन आसिना कार्की मुख्य एडीसीका रुपमा खटिएका छन्।
त्यसरी नै श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षका लागि मेजर सरोज थापा र श्रीमती राजापाक्षका लागि क्याप्टेन सुमित्रा थापा एडीसी रहने छन्।
भारत र पाकिस्तानले आफनो छुट्टै विशेष सुरक्षा दस्ता लिएर आउने भएकाले प्रधानमन्त्री मोदी र प्रधानमन्त्री सरिफको सुरक्षामा सम्बन्धित देशकै सुरक्षा दस्ता समेत परिचालित हुने भएको छ। सार्क भीभीआईपीको सुरक्षाका लागि नेपाल प्रहरी समेत रहने छ।
सार्क सुरक्षा समिति २४ घण्टा सक्रिय
सार्कको अठारौं सम्मेलनको सम्पूर्ण सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ। नेपाली सेनाका बलाधिकृत रथी पवनबहादुर पाँडेको संयोजकत्वमा सार्क सुरक्षा समिति समेत बनेको छ।
जुन समितिले नेपाली सेना, जंगी अड्डालाई आफनो मुकाम बनाएर २४ सै घण्टा काम गरिरहेको छ। समितिमा नेपाली सेनाका युद्ध तथा व्यवस्था महानिर्देशक उपरथी भीक्टर जंग राणा पनि रहेका छन्। उक्त समितिले अन्य सुरक्षा निकायसँग सुरक्षा समन्वय, सुरक्षा नीति निर्माण र निर्देशन गर्ने काम गरिरहेको छ।
समितिमा नेपाल प्रहरीबाट कार्यविभाग प्रमुख एआईजी गणेश राई, महानगरिय प्रहरी आयुक्त, एआईजी विज्ञानराज शर्मा छन् भने सशस्त्र प्रहरी बलबाट कार्यविभाग प्रमुख एआईजी सिंहबहादुर श्रेष्ठ र महानगरिय सशस्त्र प्रहरी कार्यालय प्रमुख एआईजी प्रेमकुमार शाही सम्लग्न छन्।
सार्कको समग्र सुरक्षाको यो प्रमुख सुरक्षा समिति हो। उक्त समितिमा गृह सचिव सूर्य सिलवाल र राष्ट्रिय अनुसन्धान विभागका उपत्यका हेर्ने एआईजी दिलिप रेग्मीसमेत सम्लग्न रहेका छन्।