दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अठारौं सम्मेलनमा पर्यवेक्षकको रुपमा सहभागी हुन चीन, संयुक्त राज्य अमेरिकासहित ९ देशका प्रतिनिधि काठमाडौं आउने भएका छन्। आयोजक राष्ट्र नेपालले उनीहरुलाई ५–५ मीनेटका दरले सम्मेलनमा मन्तव्यका लागि समय छुट्टयाएको छ।
परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिए अनुसार शनिबारसम्ममा ९ देशका सरकारका प्रतिनिधिले सार्कमा सहभागिताका लागि निधो गरेका छन् । सार्कमा पर्यवेक्षकका रुपमा सहभागिता जनाउने क्रम वढ्दै गएको छ।
हालसम्म अमेरिकाबाट मध्य तथा दक्षिण एसियाली मामिला सम्बन्धी सहायक विदेश मन्त्री निशा देशाइ विसवाल सार्कमा पर्यवेक्षकका रुपमा सहभागी हुन काठमाडौं आउँदै छिन्। विसवालले सार्क शिखर सम्मेलनको समुदघाटन् शत्रमा मन्तव्य दिने छन्। संयोगबश देशाई मोदीको राज्य गुजरातमा जन्मेर अमेरिका बसाई सरेकी हुन।
त्यसैगरी छिमेकी मुलुक चीनबाट विदेश मन्त्रालयका उपविदेश मन्त्री लीउ च्याङमीन पनि सार्कमा पर्यवेक्षकका रुपमा भाग लिन काठमाडौं आउँदै छन् । उनले समेत सार्क शिखर सम्मेलनको उदघाटन शत्रमै मन्तव्य राख्दैछन्। चीनको वर्तमान सरकारका उनी निक्कै माथिल्लो मर्यादामा छन् भने उनी दक्षिण तथा पूर्वी एसिया मामिलाका ज्ञाता मानिन्छन्।
सार्कमा पर्यवेक्षकका रुपमा भाग लिन अष्टेलियाबाट सिनेटर व्रेट मसन पनि काठमाडौं आउने भएका छन्। सिनेटर मसन त्यहाँको विदेश मन्त्रीका लागि संसदीय सचिव पनि हुन। त्यस्तै दक्षिण कोरियाबाट विदेश मन्त्रालयका राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री ली क्योङ सु सार्कमा पर्यवेक्षकका रुपमा सहभागी हुदैछन्।
त्यसरी नै युरोपियन यूनियन, जापान, इरान, म्यान्मार बर्मा, मरिसस सरकारहरुबाट पनि हालसम्म सार्क शिखर सम्मेलनमा पर्यवेक्षकका रुपमा सहभागी हुने जनाउ दिइसकेका छन् । आयोजक राष्ट्र नेपालले पर्यवेक्षक सबैलाई बढिमा ५ मीनेटका दरले मन्तव्यका लागि समय छुट्टयाएको छ।