परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आसन्न सार्क सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको बताएका छन्।
मंसिर १० गतेदेखि काठमाडौमा हुने लागेको १८औं सम्मेलनको तयारीबारे पत्रकारसम्मेलन गर्दै यस्तो जानकारी गराएका हुन्।
मन्त्री पाण्डेले सडकको निर्माण तथा मर्मतमा केही काम गर्न बाँकी रहेपनि अरु तयारी पूरा भएको दाबी गरे।
सम्मेलनको तयारीका लागि शनिबारदेखि परराष्ट्र मन्त्रालयका सहसचिवस्तरीय कार्यक्रम समितिको बैठक शुरु हुने छ। उक्त बैठकले तयार पारेको सम्मेलनको दस्तावेजलाई मंसिर ७ र ८ गते बस्ने परराष्ट्र सचिवस्तरीय बैठकले गम्भीर छलफल र आवश्यक परिमार्जन गर्नेछ।
यसरी तयार पारेको दस्तावेज र सार्क घोषणापत्रमा मंसिर ९ गते बस्ने मन्त्रीस्तरीय बैठकले छलफल र आवश्यक सुधार गरी सरकार प्रमुखको सल्लाहमा अन्तिम तयारी गर्ने छ।
मन्त्री पाण्डेका अनुसार, मंसिर १० गते सभागृहमा शुरु हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नेछन्।
सार्कका पाहुनाको स्वागतका लागि प्रधानमन्त्रीले रात्री भोजको आयोजनाका साथै उनीको सम्मानका लागि ११ गते बिहान रिट्रटको पनि कार्यक्रम राखेको छ।
मन्त्री पाण्डेले सम्मेलन लगत्तै हुने दिउँसोको खानापछि सदस्य राष्ट्रका सरकार र राष्ट्र प्रमुखबीच दुई पक्षीय वार्ता हुनेछ।
मंसिर ११ गते रिट्रटका लागि मौसमले साथ दिए बिहान नगरकोटमा हेलिकप्टरबाट लैजाने र दुईघण्टापछि दिउँसोको खाना खाएर राजधानी फर्कने कार्यक्रम तय भएको छ।
त्यसपछि अपरान्ह १ बजे समापन कार्यक्रममा सदस्य राष्ट्रका प्रतिनिधिले काठमाडौं घोषणापत्रमा हस्ताक्षर गर्नेछन्। साँझ राष्ट्रपति रामवरण यादवसँग सामूहिक भेटवार्ता र रात्री भोजको कार्यक्रम तय भएको छ।
सम्मेलनको समापनपछि त्यसबारे प्रधानमन्त्री कोइरालाले जानकारी दिनेछन्।