गोर्खाल्याण्ड राज्य प्राप्तिका लागि संघर्षरत गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष सुवास घिसिङ गम्भीर बिरामी परेका छन्।
अध्यक्ष घिसिङको घाँटीमा गम्भीर समस्या देखिएपछि उनलाई उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको छ। मोर्चाका प्रवक्ता मनजीत सुब्बाका अनुसार घिसिङको गला र छातीमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो।
करोलबागस्थित अस्पतालमा उपचाररत घिसिङको स्वास्थ्यमा सुधार आएको उनका एक सहयोगीले बताएका छन्। उनलाई थाइरोइड भएको र पूर्ण रुपमा ठिक हुन केही समय लाग्ने जनाइएको छ। वृद्ध अवस्था र घाटीको समस्याले घिसिङ एक वर्षयता थलिएका छन्।
अध्यक्ष घिसिङ उपचारपछि दार्जीलिङ फर्किने प्रवक्ता सुब्बाले जनाए। यसअघि, सिलगढीमा उपचार गराएपनि स्वास्थ्यमा सुधार नआएपछि घिसिङ दिल्ली जानु भएको हो। सन् २००७ मा गोर्खा जनमुक्ति मोर्चाको उदयपछि उनले दार्जीलिङ पहाड छोडेका थिए।
जलपाइगुडी र माटिगडाको बसाईपछि उनी दार्जीलिङ फकिएका थिए। सन् २००७ को लोकसभा निर्वाचनका बेला दार्जीलिङ फकिएका घिसिङ बिरामी परेपछि दिल्लीतर्फ लागेका हुन्। उनको स्वास्थ्यले साथ नदिएपछि पार्टीका कार्यक्रम लथालिङग भएको छ।