संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बावुराम भट्टराईले संविधानका विवादित विषयमा सहमतिको लागि अन्तिम समयसम्म अधिकतम प्रयास गरिने बताएका छन्।
समितिका सभापति डा. भट्टराईले विवादका मुख्य विषयमा कुरा मिलेपछि सहमतिमा पुग्ने दाबी गरे।
“मुख्य ताल्चा एकपटक खोलेपछि त खुलिहाल्यो त्यसपछि अघि बढ्न समय त लाग्दैन नि, त्यो खुल्नलाई अलि समय लागेको हो,” सभापति डा. भट्टराईले भने।
उनले १५ गते सहमतिको लागि फेरि अन्तिम प्रयास गर्ने जानकारी दिए।
विवादित विषयमा सहमति हुन नसके प्रश्नावली लिएर संविधानसभामा जाने हो कि भन्ने प्रश्नमा समितिका सभापति डा. भट्टराईले त्यसबारेमा हामी समितिमा छलफल गछौ के निर्णय हुन्छ सोही अनुसार अघि बढ्ने बताए।
नेपाली काँग्रेस र नेकपा (एमाले)ले सहमति हुन नसके प्रक्रियामा जानुपर्नेमा जोड दिएका छन् नी भन्ने प्रश्नमा डा. भट्टराईले त्यो कुरा पनि उहाँहरूले बुझनुभएको बताउँदै सहमति र मतदान पनि प्रक्रिया भएकाले सबै विषयमा सहमति चाहिने बताए।
संविधानसभाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई तेस्रो पल्ट संविधानका विवादित विषयमा सहमति जुटाउने समयसीमा तोकेको छ।