संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयास शुक्रबार पनि विफल भएको छ।
संविधानसभाले दिएको समयसिमा सकिनु २४ घण्टाअघि प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा सबैले आफ्नो अडानबाट पछि हट्न तयार नभएपछि सहमतिको सम्भावना क्षीण बनेको हो।
बैठकबाट बाहिरिदै गरेका कांग्रेसका नेता एवम् अर्थमन्त्री रामशरण महतले पत्रकारहरुसँग कुरा गर्दै अब सहमतिको सम्भावना सकिएको बताए। सहमतिमा संविधान बन्ने सम्भावना नभए पनि अब जे हुन्छ संविधानसभाले नै निर्णय गर्छ, उनले भने। कांग्रेस र एमालेकाबीच विवादित विषयमा समानता रहेको उल्लेख गर्दै अब हामी दई दल एउटै विचार लिएर हाउसमा जान्छौ जे गर्छ हाउसले गर्छ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि बैठकमा सबै दल आफ्नो आफ्नो अडानमा रहेका कारण कुनै पनि विषयमा सहमति हुन नसकेको बताए।
त्यसका बाबजूद शनिबार बिहान नौबजे बालुवाटारमा बस्ने तीन दलका शीर्ष नेता, सभामुख सुवासचन्द्र नेम्वाङ र संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई सहितको संयुक्त बैठकले सहमतिका लागि अन्तिम प्रयास गर्ने श्रेष्ठले बताए।
एमाले महासचिव ईश्वर पोख्रेलले पनि आजको बैठकमा सहमति हुन नसकेपनि सहमतिको प्रयास जारी रहने बताए।