व्यवस्थापिका संसदको शुक्रबारको दोस्रो बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, एमाले र राप्रपा नेपालका सभासदहरूबीच हातहालाहालको स्थिति उत्पन्न भएपछि सभामुख सुवासचन्द्र नेम्वाङले आइतबारसम्मका लागि बैठक स्थगित गर्नु परेको छ।
शुक्रबार बिहान साढे ११ बजे बसेको संसदको बैठकमा सरकारको तर्फबाट जवाफ दिने क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले प्रयोग गरेको शब्दाबलीप्रति आपत्ति जनाउँदै झण्डै साढे ५ घण्टासम्म स्थगित बैठक पुनः सुरु भएको बैठकमा सत्तापक्ष र राप्रपा नेपालका सभासदबीच झडपको स्थिति आयोे।
दिनभर सरकार र राप्रपा नेपालबीच सहमति कायम गरी सदनको कारबाही सुचारु गर्ने प्रयास विफल भएपछि सभामुख नेम्वाङले करिब ५ बजेतिर बैठक शुरु गर्दै गृहमन्त्री गौतमलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदनमा उठाएका विषयमा जवाफ दिन समय दिए।
गृहमन्त्री गौतम जवाफका लागि रोष्ट्रममा पुग्नासाथ राप्रपा नेपालका सभासदहरुले वेल घेराउ गर्न नारावाजी शुरु गरेपछि सत्तापक्ष कांग्रेस र एमालेका मुख्य सचेतकसहित सभासदहरुले राप्रपा नेपालका सभासदहरुको गतिविधीको विरोध गर्दै आफूहरुले पनि बोल्न पाउनु पर्ने माग गरे।
त्यहिबीचमा सभामुखले कांग्रेसका सभासद रामहरि खतिवडालाई के विषयमा नियमापत्ति गरेको भनि समय दिएपछि उनी बोल्न लाग्दा राप्रपा नेपालका अध्यक्ष कमल थापा र उनका भाई सभासद गणेश थापाले पनि उत्तेजित हुदै ‘के खोजेको लौ आइज’ भनि खतिवडालाई च्यालेन्ज दिएका थिए।
त्यसको प्रतिवाद गर्दै कांग्रेस र एमालेका सभासदहरु वेल अगाडि बढेपछि स्थितीलाई सामान्य बनाउन कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ र एमाले प्रमुख सचेतक अग्नि खरेलले आफ्ना सभासदहरुलाई रोक्नु परेको थियो।
त्यसपछि सभामुख नेम्वाङले सदन अवरोधको स्थितिमा चल्ने नसक्ने भन्दै आइतबारसम्मका लागि स्थगित गरेका हुन्।