उद्योगमन्त्री महेश बस्नेतले औद्योगिक समस्या समाधान गर्न सबै राजनीतिक दल र उद्योगीहरू एकजुट हुनुपर्ने बताएका छन्। बस्नेतले त्यसो भएमात्र औद्योगिक क्रान्ति र देशको विकासमा टेवा पुग्ने बताए।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा शुक्रबार संयुक्त रुपमा आयोजित भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले भने, 'अब आर्थिक–सामाजिक विकासका एजेण्डाले प्राथमिकता पाउनुपर्छ, हामीले राजनीतिक परिवर्तन धेरै गरिसक्यौं।' मन्त्री बस्नेतले उद्योगी र व्यवसायीका मुद्दामा उद्योग मन्त्रालय गम्भीर रहेको बताउँदै समस्याको हल सबै मिलेर गर्नुपर्ने धारणा राखे।
'उद्योग मन्त्रालय उद्योगी र व्यवसायीको रानो हो, यसलाई विश्वास गरेर बचाउनु तपार्इंहरुको जिम्मेवारी हो,' उनले भने। उनले उद्योग मन्त्रालयसँग विश्वास नगरी अन्य मन्त्रालयसँग आफ्ना धारणा राख्नु 'भाले मौरीलाई पोस्नु'जस्तो भएको दाबी गरे।
विशेष आर्थिक क्षेत्र र औद्योगिक ऐनको विषयमा उद्योग मन्त्रालयले चाँडै योजना अगाडि बढाउने तयारी गरिरहेको बस्नेतले बताए। उद्योग मन्त्रालयको बजेट बढाएर औद्योगिक विकासका कामलाई गति दिनका लागि मन्त्रालयले काम थालनी गरेको उनको भनाइ थियो।
उद्योग सचिव उत्तमकुमार भट्टराईले विशेष आर्थिक क्षेत्रको निर्देशिका तयार भइसकेको र चाँडै नीति बन्ने दाबी गरे। उनले औद्योगिक व्यवस्था ऐन समेत चाँडै आउने जानकारी दिएका छन्। व्यापार घाटा कम गर्नका लागि निर्यातजन्य उद्योगहरुलाई अनुदान बढाउने तयारी भइरहेको उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले रुग्ण उद्योगहरुको पुर्नसंचालनमा सरकार गम्भीर हुनुपर्ने बताए। उनले स्थापना भई सञ्चालनमा रहेका उद्योगहरु धरासायी हँुदै गएको बताए।