नेपालमा दैनिकजसो सडक दुर्घटनामा ज्यान गुमाउनेको समाचार आइरहन्छ। वर्षेनी सवारी दुर्घटनामा ज्यान जानेको संख्या १८ सय हारहारी छ ।
मृत्युपछि दिवंगतका नश्वर शरिरलाई समाधिमा नष्ट पारिन्छ । अर्कोतर्फ नेपालमै वर्षेनी हजारौं रोगी अंग बोकेका विरामीले प्रत्यारोपण गर्न स्वस्थ्य अंग नपाएरै ज्यान गुमाउनु परिरहेको छ ।
‘हरेक वर्ष औसत २७ सय जना नेपालीको मृगौला प्रत्यारोपण गर्न नसकेरै मृत्यु भइरहेको छ,’ मृगौला विशेषज्ञ डा. पुकार श्रेष्ठ भन्छन्, ‘त्यसैगरि एक हजारभन्दा बढी नेपालीको कलेजो फेर्न नपाएर मृत्यु हुन्छ ।’
मुटु, फोक्सो, कलेजो, मृगौला, प्यानक्रियाज र सानो आन्द्राजस्ता अंग प्रत्यारोपण गर्न नपाएर त्यसका रोगीको वर्षेनी हजारौंको संख्यामा नेपालमा निधन भइरहेको छ ।
‘यि विरामी बचाउने सबैभन्दा उपयुक्त उपाय नै दुर्घटनामा मृत्यु भएकाको अंग निकालेर प्रत्यारोपण गर्नु हो,’ मुख्य सचिव लिलामणि पौडेल भन्छन्, ‘सबैजसो मुलुकमा चलिरहेको यो अभ्यास अब हामीले पनि सुरु गर्नुपर्छ ।’
पौडेलको इशारा हाम्रो कानुनमा पनि ‘ब्रेन डेथ’को प्रावधान समेटिनुपर्छ भन्ने हो ।‘संसारमा अधिकांश प्रत्यारोपण नै ब्रेन डेथ भएकाको अंगबाट हुन्छ,’ उनी थप्छन्, ‘विशेषगरि दुर्घटनामा मृत्यु भएकाको स्वस्थ्य अंग निकाल्न पाउने हो भने समस्या धेरै समाधान हुन्छ ।’तर, विडम्बना स्वयं मुख्य सचिवले आवश्यकता देखिरहेको यस्तो महत्वपूर्ण प्रकृया सरकारी संयन्त्रको ढिलाइले गर्दा नै अगाडि बढ्न पाइरहेको छैन । यस क्षेत्रमा सक्रिय भएर लागिरहेको चिकित्सकका अनुसार यससम्वन्धि फाइल बितेको चार वर्षदेखि स्वास्थ्य मन्त्रालयमै अड्किरहेको छ । मन्त्रालयबाट पास भएर कानुनमा नसमेटिएसम्म मृत्यु भएकाको अंगदान गर्न मिलिरहेको छैन ।
‘ब्रेन डेथ’ अर्थात् मश्तिष्कले पूर्णतया अथवा अब सुधारै हुननसक्नेगरि काम बन्द गर्नु हो । चिकित्सकका अनुसार विशेषतः दुर्घटनामा परेर मरेकाको अवस्था यस्तो हुन्छ । यस्ता मृतक प्रायः कुनै रोग नलागेका अझ कतिपय त असाध्यै कम उमेरका हुने भएकोले उनीहरुको स्वस्थ्य अंग तत्काल अरु व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ । त्यस्तो अवस्थामा मृतकका अन्य अंगलाई भने ‘मेकानिकल भेन्टिलेसन’को प्रयोगद्वारा प्रत्यारोपण गर्ने क्षणसम्म सञ्चालित अवस्थामै राखिएको हुन्छ ।
‘यो अवस्थालाई बुझाउन लामो ब्याख्या गर्नुपर्ने हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘जबकि स्वास्थ्य मन्त्रालयमा बल्ल बल्ल एकजनालाई बुझाएपछि उनले कार्यान्वयन गर्ने चरण आइ नपुग्दै उनको स्थानमा अरु सरुवा भएर आइदिन्छन् ।’
त्यसबाहेक मन्त्रालयका कानुन हेर्ने र सम्वन्धित क्षेत्रमा लागिपरेका चिकित्सकले पनि यसैमा मात्र केन्द्रित भएर लागिरहने अवस्था रहँदैन । ‘दशैं अगावै स्वास्थ्य मन्त्रालयमा कानुन हेर्ने उपसचिवज्यु र मेरो यसै विषयमा भेटघाट तय गरिएको थियो,’ श्रेष्ठ भन्छन्, ‘भेट्ने बेलैमा उहाँलाई विदेश जानुपर्ने भयो, उहाँ फर्केपछि म काठमाडौं बस्न पाएको छैन ।’
‘ब्रेन डेथ’लाई कानुनमा समेटेर स्वस्थ्य अंग प्रत्यारोपणका निम्ति उपलब्ध गराउन थालिएको धेरै भएको छैन । सत्तरीको दसक आसपासबाटै यो बहसमा आउन थाल्यो र धमाधम यसलाई विभिन्न मुलुकले आफ्नो अनुकूल हुनेगरि कानुमा समेट्न थाले । यतिबेला विश्वभर ८० प्रतिशत अंगहरुको प्रत्यारोपण नै यहि ‘ब्रेन डेथ’बाट प्राप्त हुने स्वस्थ्य मानव अंगबाट भइरहेको छ ।
नेपालमा अंग प्रत्यारोपण
अंग दान (अर्गन डोनेसन) लाई खुला गरिदिने हो भने किनबेच र अझ अपराधसम्मका गतिविधिले प्रोत्साहन पाउने भएकाले नेपालमा अहिलेको कानुनले यसलाई नियन्त्रित गरेको छ । परिवारको प्रथम सदस्य (बाबु, आमा, श्रीमति, छोरा, छोरी)ले मात्र नेपालमा आफन्तलाई अंग दान गर्न पाउँछन् । अरु कसैले अंग दान गर्न तयार भइदिए भने पनि प्रत्यारोपण गर्ने कानुनी अधिकार छैन । त्यसैले परिवारकै सदस्यमा आफुलाई मिल्ने समूहको अंग छैन भने विरामीका निम्ति मृत्युलाई अंगाल्नेबाहेक अरु कुनै विकल्प रहँदैन ।
तर, यति गर्दागर्दै पनि अंग प्रत्यारोपणका नाममा फोहोरी खेल नरोकिएको चिकित्सक बताउँछन् ।
‘यता कानुनी मान्यता नभएकै कारण भारतका दलालको शिकार नेपाली विरामी भइरहेका छन्,’ डा. श्रेष्ठ भन्छन्, ‘उता पनि गैर कानुनी रुपले चलिरहेका प्रत्यारोपण केन्द्रमा लैजाने दलालले धेरै निर्दोष विरामीको ज्यान लिइरहेका छन् ।’
दलालले पैसा पनि खाइदिने र आफन्तको मृत्यु पनि भइसकेपछि कतै भनसुन गर्ने ठाउँ पनि नभएर भौतारिएका थुप्रै केस नेपालमा रहेको श्रेष्ठ सुनाउछन् ।
यो सबै कारणले गर्दा अंग प्रत्यारोपण सीमित व्यक्तिमै केन्द्रित बन्न पुगेको छ । ‘यसलाई ब्यापक बनाउने हो भने ब्रेन डेथको प्रावधान खोलिनु पर्छ,’ पत्रकार रविन्द्र मिश्र भन्छन्, ‘मृत्यु भइसकेपछि अंगदान गर्नका निम्ति व्यक्तिहरुलाई सहमत गराउन अप्ठेरो हुँदैन ।’
कानुनमा एकपटक यसलाई समेट्ने बित्तिकै मुलुकभर अभियान चलाएर जनसंख्याको सक्दो बढी हिस्सालाई मृत्युपछि आफ्नो अंग दान गर्न राजी रहेको कागज गराउन सकिन्छ । त्यसैका आधारमा कुनै पनि व्यक्तिको अकाल मृत्यु भएछ भने उसका स्वस्थ्य अंगहरुले अर्को कुनै विरामीको शरिरमा बाँचिरहन पाउनेछ ।
त्यसो त, मृगौला, फोक्सोजस्ता अंग हरेक मान्छेमा दुईवटा हुने भएकाले जीवितै व्यक्तिले पनि एउटा दान गर्दा फरक पर्दैन । दान गर्ने मान्छे स्वस्थ्य नै रहन्छ । तर, अंग दान गर्नुलाई अहिले पनि हाम्रो समाजले सहज रुपमा नलिइदिएकाले हत्तपत्त कोहि पनि आफ्नै परिवारका सदस्यलाई धरि दान गर्न अप्ठेरो मान्छन् ।
‘अंग दान निम्ति हामीले सक्दो चेतना अभियान चलाएका छौं,’ गायिका आनी छोइङ डोल्मा भन्छिन्, ‘तैपनि अझै यसको पक्षमा मानसिकता तयार पार्न सकिएको छैन ।’
एक त परिवार भित्रकै कसैको अंग मिल्नु पर्ने त्यसमाथि त्यस ब्यक्तिले दान गर्न तयार भएको अवस्थामा मात्र विरामीलाई अंग प्रत्यारोपण गर्न सकिन्छ ।‘यस्तो बेलामा दुर्घटनामा मरेका व्यक्तिको अंग प्रयोग गर्ने प्रावधान आइदिए साह्रै सजिलो पर्ने थियो,’ मृगौला रोगकै कारण आमा गुमाएपछि यसै रोगका क्षेत्रमा लागिपरेकी आनी भन्छिन्, ‘तर, कानुनमा यसलाई समेट्नै लामो समय लागिरहेको छ ।’
आनी र बेलायतमा बसेर यसै क्षेत्रमा काम गरिरहेका श्रेष्ठ मिलेरै केहि वर्षअघि पुल्चोकमा ‘आरोग्य प्रतिष्ठान’ स्थापना गरेका छन् । यो संस्थाले मुनाफारहित ढंगबाट मृगौला रोगीका निम्ति ‘डाइलासिस’ र प्रत्यारोपणका विस्तृत परिक्षणसेवा दिँदै आएको छ ।
‘बेलायतमा मृगौला रोग लागेपछि राज्यले दिएको सुविधाकै कारण विरामीले अप्ठेरो अवस्थै झेल्नु पर्दैन,’ अनुभवी डा. श्रेष्ठ भन्छन्, ‘नेपालमा भने उपचार गरेरै घरखेत सकिने भएकाले अन्तिममा विरामी पनि नबाँच्ने र परिवारका सबैको बिल्लीबाँठ हुने अवस्था छ ।’
नेपालमा अंग फेल हुनेबित्तिकै सामाजिक र आर्थिक नोक्सानीको यो भयावह अवस्था देखेरै स्वदेश फर्किएर यसै क्षेत्रमा समर्पित भएको डा. श्रेष्ठ बताउँछन् ।
असाध्यै बढी सडक दुर्घटना हुनेगरेको नेपालमा ब्रेन डेथलाई कानुनमा समेट्ने बित्तिकै प्रत्येक मृतकबाट आठजना विरामीको ज्यान जोगिन सक्ने चिकित्क बताउँछन् । त्यसबाहेक दृष्टिविहिनलाई आँखा इत्यादि त छँदैछ ।
हामीकहाँ कानुनको अभावले गर्दा नै दुर्घटनामा मृत्युहुनेका ती सबै अंग अहिले खेर गइरहेका छन् भने विरामी मृत्यु पर्खेर बस्न बाध्य भइरहेका छन् ।