नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले च्याउ उम्रे झै राज्य उम्रिए देशले धान्न नसक्ने बताएका छन्।
एमाले जिल्ला कमिटी भक्तपुरले आज ठिमीको बालकुमारीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बहुप्रदेशले देशलाई कङ्गाल बनाउने बताए।
पहिचानसहितको प्रदेशको मागबारे टिप्पणी गर्दै उनले भने, 'पहिचानको माग गरिएको छ, पहिचान भनेको आफैंले बनाउने हो, काम गरे पहिचान बन्छ, नबने बन्दैन, शङ्खधर साख्वाःले काम गरेकै भएर उनको पहिचान देशव्यापी छ।'
संविधानसभामा एकतिहाइ भन्दा बढी कसैको नभएको र संविधान जारी गर्न दुई तिहाइ नै चाहिने भएकाले विरोधबाट नभई सहमतिबाटै माघ ८ गतेभित्र संविधान जारी हुने दावी उनले गरे।
कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले अर्थमन्त्री सकारात्मक भए देशको बेरोजगार युवालाई रोजगारी दिनसकिने बताए। उद्योग मन्त्रालयसँग बजेट नभएकाले अर्थ मन्त्रालयले बजेट दिए हरेक वर्ष ५० हजार युवालाई रोजगार दिने कार्यक्रम उद्योग मन्त्रालयले ल्याउने उनको भनाइ थियो।
कार्यक्रममा अध्यक्ष ओली र मन्त्री बस्नेतले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण गरेका थिए। रासस