पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एनेकपा माओवादीको जातीय घमण्डले गर्दा गोकर्णमा बसेको बैठक निष्कर्षविहीन बन्न पुगेको बताए।
एमाले काठमाडौँ ३ नं क्षेत्रीय कमिटीले आज जोरपाटीमा आयोजना गरेको बडा दसैं, शुभ दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान एवम् देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अब सहमतिकै नाममा धेरै समय खर्च गर्नुको अर्थ नदेखिएको बताए।
सहमति खोजेर बसिरहँदा संविधान घोषणाको निर्धारित मिति पर सर्न सक्ने भएकाले कात्तिक नौ र १० पछि सहमति हुन नसके प्रश्नावली बनाएर संवाद समितिले प्रतिवेदन बुझाउनु उपयुक्त हुने नेता नेपालको भनाइ थियो।
भाषा र संस्कृतिलाई जगेर्ना गर्दा नराम्रा कुरालाई छोडेर राम्रा विषयलाई अँगाली अघि बढ्नुपर्ने उनले बताए।
सभासद् रामेश्वर फुयाँलले शीर्ष नेताहरुले सहमति गर्न नसक्दा सभासद्हरु चेपुवामा पर्ने गरेको गुनासो गरे।
कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य विश्वनाथ प्याकुरेल, ३ नं क्षेत्रीय कमिटी अध्यक्ष उद्धव खड्का लगायतका वक्ताले निर्धारित माघ ८ गतेभित्र संविधान जारी गर्ने गरी अघि बढ्न नेतृत्वसमक्ष माग गरे।
देउसी भैलोबाट दुई लाख २८ हजार ८५१ रुपैयाँ सङ्कलन भएको छ। रासस