नेपाल कम्युनिष्ट पार्टी–माओवादीका अध्यक्ष मोहन बैद्यले जनअपेक्षा अनुरुप संविधान निर्माण हुने अवस्था नभएमा संविधानसभाबाट एनेकपा माओवादी बाहिर आउनुपर्ने बताएका छन्।
नेकपा–माओवादी ठैव गाउँ कमिटीले आज नेपाल सम्वत् ११३५ को अवसरमा आयोजना गरेको शुभकामना एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टी टुक्रिएको अवस्थाको फाइदा लिएर ठूला राजनीतिक दलहरुले आफ्नो पार्टीले उठाउँदै आएको मागलाई बेवास्ता गरेको आरोप लगाए।
उनले सर्वपक्षीय राजनीतिक सम्मेलनबाट मात्र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने, जनचाहनाअनुसारको संविधान निर्माण हुने, द्वन्द्व समाधान हुने, जनजाति, मधेसी, महिला, दलित, उत्पीडित वर्गलगायतको अधिकारको सुनिश्चितता हुने दावी गरे।
सो पार्टीका प्रवक्ता पम्फा भुसालले विदेशीको इसारामा दोस्रो संविधानसभाको निर्वाचन गरिएकाले जनमुखी संविधान बन्न सक्दैन भने।
सो कार्यक्रममा केन्द्रीय सल्लाहकार दिपेन्द्र श्रेष्ठ, वैकल्पिक केन्द्रीय सदस्य राजकाजी महर्जन, नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य बुद्वराज बम्जनलगायतको उपस्थिति रहेको थियो। रासस