अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाले सबै विकल्प अपनाउँदा पनि सफल हुन नसकेपछि हार्न बाध्य भएको बताएका छन्।
सोमबार एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा हतास हाउभाउमा प्रस्तुत थापाले नेपाली फुटबललाई दुर्घटनाबाट बचाउन दुई महिना पदीय जिम्मेवारीमा नरहने निर्णय गरेको बताए। उनले भने 'दुई महिनाको लागि स्थगनमा बस्ने निर्णय गरेको छु। तर सिग्नेचर नगरे पनि एन्फाका सबै काममा सहभागी भइरहनेछु।,'
एन्फामा ५८ करोड भष्टचार गरेको आरोपमा सार्वजनिक लेखा समितिले दिएको निर्देशनलाई 'सम्मान गर्दै' निर्णय लिएको उनको तर्क छ। 'ब्यक्तिगत प्रतिष्ठाको लडाईमा फुटबललाई धरापमा नपार्न अन्य पदाधिकारीको असहमतिका बावजुद यो निर्णय लिएँ,' उनले भने।
थापा दुई महिना स्थगनमा बस्दा एन्फा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्। थापाले श्रेष्ठलाई कार्यवाहक दिएका छन्। तर थापा त्यो शव्द उच्चारण गर्न रुचाउँदैनन्।
'ललितले मेरो जिम्मेवारी सम्हाल्ने हो तर कार्यवाहक अध्यक्ष चाँही नभन्नुस्,' म अप्रत्यक्ष रुपमा एन्फासँगै हुनेछु,' थापाले भने। त्यसैगरी एन्फाका कोषाअध्यक्ष विराटजंग शाही पनि दुई महिनाको लागि आफ्नो पदिय जिम्मेवारीबाट हटेका छन्। अब कोषाध्यक्षको काम रविन्द्र जोशीले सम्हालेछन्।
यसैबिच एन्फाले यो वर्षको राष्टिय लिग आगामी मंसीर २२ देखि सञ्चालन गर्ने भएको छ। २ करोड २५ लाख पुरस्कार राशी भएको प्रतियोगितामा पाँच जिल्ला (झापा, मोरङ, मकवानपुर, रुपन्देही र कैलालाी), सेना, प्रहरी लगायतका क्लव सहभागी हुनेछन्।
विजेताको पुरस्कार राशी एक करोड छ। त्यस्तै राष्टिय टिमका खेलाडीको मासिक तलब १० बाट १५ हजार, महिला खेलाडीको पाँच बाट सात हजार र रेफ्रीको चारबाट छ हजार रुपैयाँ पुर्याएको जानकारी थापाले दिए।