पर्सा, बारा तथा रौतहट जिल्लाका १८ सभासद्हरुले मध्य तराईलाई भोजपुरा–सिम्रौनगढ प्रदेश बनाउन माग गरेका छन्।
शनिबार राजधानीस्थित मिडिया इन्टनेशलनमा पत्रकार सम्मेलन गरि विभिन्न दलसम्बद्ध सभासदहरुले वीरगन्जलाई प्रादेशिक राजधानी कायम गर्दै नवलपरासीदेखि सर्लाहीसम्म सीमाङ्कन गरी यस क्षेत्रलाई छुट्टै प्रदेश बनाउन माग गरेका हुन्।
सामर्थ्य र पहिचानका आधारमा यो क्षेत्रलाई छुट्टै राज्य बनाउन उपयुक्त हुने उनीहरुको दाबी छ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले भने, 'संघीयताको विषयमा विवाद भैरहेका बेला आफूहरुले अघि सारेको भोजपुरा–सिम्रौनगढ राज्यको प्रस्ताव स्वीकार गरिए यो भेगका जनताको चाहना अनुसार हुने थियो।'
आफूहरुले प्रस्ताव गरेको प्रदेश भाषा, संस्कृति, भुगोल र ऐतिहासिक आधारमा एक सबल, सामर्थ्यवान, भौतिक संरचनायुक्त, प्राकृतिक सम्पदा सम्पन्न, पर्यटकीय स्थलहरूबीच संजाल निर्माण हुनसक्ने संघीय राज्य हुने सभासदहरुले दाबी गरेका थिए।
मन्त्री पौडेलको यो प्रदेशको आबश्यकतामा जोड दिदै भने, “यो राज्य प्रशासनिक सुगमता भएको प्रदेश हुनेछ र जनताको साँचो अर्थमा राज्यमा पहुँच हुनेछ र आन्तरिक विवाद पनि समाधान हुने छ।'
कार्यक्रममा नेपाली कांग्रेस पर्सा क्षेत्र ३ का सभासद् सुरेन्द्रप्रसाद चौधरीले देशको कुल राजश्व संकलनमा ६० प्रतिशत आर्थिक नगद वीरगन्जबाट संकलन हुन्छ, भौतिक पुर्वाधारको आधारमा पनि वीरगंज अगाडि रहेकोले वीरगन्जलाई प्रादेशिक राजधानी बनाउँदा भौतिक संरचना निर्माणमा राज्यको ठूलो धनराशी र समय खर्च नहुने दाबी गरे। उनले भने, 'यो प्रदेश एउटा नमुना प्रदेश हुने छ।'
पर्सा क्षेत्र न. १ का नेपाली कांग्रेसका सभासद राजेन्द्रबहादुर अमात्यको विशेष अगुवाईमा काठमाडौंमा आयोजित सामूहिक पत्रकार सम्मेलनमा पर्साका सभासदहरु राजेन्द्रबहादुर अमात्य, सुरेन्द्रप्रसाद चौधरी, जयप्रकाश थारु, जुनैद अन्सारी, रामचन्द्र साह तेली, नागेन्द्रप्रसाद चौधरी, राजकुमार गुप्ता, बिचारी यादवको उपस्थिति थियो। त्यस्तै, बाराका सभासदहरु पुरूषोत्तम पौडेल, फरमुल्लाह मन्सुर, नेजमा आलम, राधेचन्द्र यादव, बलवीर चौधरी, रामअयोध्याप्रसाद यादव, मधु शाही ठकुरी, लालबाबु सिंह थिए भने रौतहटबाट रामकुमार भट्टराई, डा. बंशीधर मिश्र लगायतका सहभाागीता थियो।