एमाले संघीयता र पहिचानबाट पछि हट्यो भन्ने विपक्षीहरुको कुरा हावादारीमात्रै भएको एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धरानको कार्यक्रममा बताएका छन् ।
‘एमालेले पहिचान मान्दैन भन्नु विपक्षीहरुले फैलाउने भ्रम मात्रै हो । हामी सवै जातजाति धर्म सम्प्रदायप्रति संघीयता र पहिचानको पक्षमा संविधान निर्माण गर्ने तयारीमा लागिरहेका छौं ।’ नेता नेपालले नेपाल मुस्लिम इत्तेहाद संगठन धरान नगरले गरेको बक्रइद मिलान कार्यक्रममा भने ।
नेता नेपालले मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गराउनमा एमाले कटिबद्ध र दत्तचित्त रहेको दाबी गरे । ‘मुस्लिम समूदायको हितमा एमाले दत्तचित्त भएर लाग्ने छ ।’ नेता नेपालले भने ।
सामाजिक एकताको सवाल र जातीय सद्भाव कायम राख्ने कुरामा एमाले प्रतिवद्ध रहेको बताएका छन् । उनले मुस्मिलहरुको मदरासा शिक्षामा आधुनिकिकरणको खाचो रहेकाले त्यसतर्फ एमालेको ध्यान केन्द्रीत रहेको बताएका थिए ।
उनले आफू पनि मुस्लिम समुदायको क्षेत्रबाट जन्मिएकाले आफूले मुस्लिमको पीडालाई नियालेकाले पनि मुस्लिमका छोरीहरुको लागि रौतहटमा नर्सिंङ शिक्षा स्थापना गरिदिएको बताए । उनले सर्लाही र रौतहटमा स्थापित भएको बताए ।
कार्यक्रममा पूर्व एमाले सचेतक एवं सचिव भिम आचार्यसँगै अञ्चल समन्वय कमिटिदेखि जिल्लासँगै नगरसम्मका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
मुस्लिम हितका काम गर्ने सम्मानित
संगठनले मुस्लिम क्षेत्रबाट कार्यरत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित गरेको छ । संगठनले एकदर्जन बढी मुस्लिम व्यक्तित्वहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेमा समाजसेवी तर्फबाट बसी अहमद खान, प्रवेज आमल, मुर्तुजा अली, साकिर अली, शैख युसुफ अलि, युवा प्रोत्साहनमा अफाक अहमद्, फिरोज अली, मोहम्मद जफिर छन् ।
साथै, चिकित्सासेवीबाट डा. खालिद हुसेक हक, डा. आमिर आफाक, शिक्षा सेवीबाट इमाम इकवाल अहमद, ८८ वर्षका सर्वजेष्ठ नागरिकमा मोहम्मद हविव पनि सम्मानित भएका छन् । त्यस्तै हाजिहरुमा हाजि यार मोहम्मद, नरुल हक, नौसाद आलम, डा. खालिद हुसैन हक, कमरुल होदा, मोविन लारीलाई सम्मानित गरिएको हो । उनलाई नेता नेपालले सम्मान पत्र हस्तान्तरण गरे ।