फाइल तस्विरः सेतोपाटी
बाल अधिकारका निम्ति झापादेखि काठमाडौं हुँदै वीरगञ्जसम्म पदयात्रा गर्ने भारतीय सहकर्मी कैलाश सत्यार्थीले अन्तर्राष्ट्रिय ख्यातिको नोबेल शान्ति पुरस्कार पाउँदा नेपाली सहकर्मीहरू तरंगित भएका छन्।
बाल दासता विरुद्ध क्रियाशील अधिकारकर्मी सत्यार्थीलाई पाकिस्तानी बाल शिक्षाकर्मी किशोरी मलाला युसुफजायीसँग नाबेल शान्ति पुरस्कार दिने घोषणा भएपछि नेपालका अधिकारकर्मीलाई दुई कुराले उत्साहित तुल्याएको छ– एक, दुबैजना दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानका हुन्। दुई, सत्यार्थीसँग नेपालको बाल अधिकार आन्दोलनसमेत जोडिएको छ।
‘पुरस्कार घोषणा हुनासाथ मैले उनलाई टेलिफोनबाट बधाइ दिए,’ बाल अधिकारको क्षेत्रमा क्रियाशील गैर सरकारी संस्था सिविनका संस्थापक एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले शुक्रबार सेतोपाटीसँग भने, ‘हामीले उठाएका अहिलेसम्मका मुद्दाहरूको जित हो भन्नुभयो।’
उनले विगतमा नेपाली सहकर्मीहरूसँग गरेका अभियानको सम्झना गर्दै अभियान अझै पूरा भइनसकेको र यसलाई थप उचाइतर्फ लैजानु पर्ने पनि उनले आफ्ना सहकर्मी प्रधानसँग बताएका थिए। ‘यसलाई पूर्णतामा लैजान, राज्य, नागरिक समाज,गैर सरकारी संस्था सबैले निरन्तर अभियान सञ्चालन गर्नुपर्छ,’ सत्यार्थीलाई उदृत गर्दै प्रधानले भने।
सत्यार्थीले ८० हजार भन्दा बढी बालबालिकालाई दासताबाट मुक्त गराएका छन्। भारत मध्यप्रदेशको विदिशामा जिल्लामा जन्मेका ६० वर्षे यी अभियन्ताले पुरस्कारको घोषणापछि भनेका छन्, ‘यो भारतबासी र आफ्नो आवाज कहिल्यै सुनाउन नपाएका बालबालिकाका निम्ति सम्मान हो।’
बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि लागू भएको २५ वर्ष पुग्न लागेको क्षणमा यसै अभियानसँग जोडिएर नोबेल पुरस्कार प्राप्तिलाई नेपाली अधिकारकर्मीहरूले समेत गौरवको विषय ठानेका छन्। बाल श्रम विरूद्धको विश्व यात्राका अभियन्ता सत्यार्थीलाई काठमाडौंका अधिकारकर्मीहरूले सन् १९८८ तिरै काठमाडौं बोलाएर अभियान थालेयता विश्व परिदृश्यमा ठूलो परिवर्तन समेत आएको छ। त्यसपछि नै संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धि लागु भएको हो।
‘हाम्रै सक्रियतामा पहिलो पटक सन् १९८८ मा काठमाडौंमा बाल अधिकारसम्बन्धी दक्षिण एसियाली परामर्श गोष्ठी भएको थियो,’ प्रधानले सम्झना गरे, ‘त्यो बेला स्वामी अग्निवेससहित उनी यहाँ आएका थिए। यही समयबाट हामीले सहकार्य थालेका हौं।’
सत्यार्थीले सन् १९८० देखि स्वामी अग्निवेससँग मिलेर बण्डेड लेबर लिवरेसन फ्रन्ट मार्फत् काम गरेका थिए। त्यसपछि उनी बचपन बचाओ आन्दोलन नामको संस्था मार्फत् क्रियाशील भएका थिए। काठमाडौंमा पहिलो पटक भएको दक्षिण अभियानले बाल अधिकारका निम्ति विश्व पदयात्रा अभियानमा जाने हौसला प्राप्त भएको समेत प्रधानले बताए।
‘यो अभियान पहिले दक्षिण एसिया हुँदै विश्वका एक सय तीन मुलुकको पदयात्रासम्म पुग्यो,’ उनले भने।
नेपालबाट ललाइफकाई भारतका विभिन्न सर्कस, जरीभर्ने (इम्ब्रोइडरी) कारखाना, कार्पेट बुन्ने ठाउँ आदिमा पुर्याइएका बालबालिकाको उद्धारका निम्ति उनले ठूलो भूमिका खेलेका छन्। उनले यी काम गर्दा जोखिम पनि उठाएका छन्। भारतको उत्तर प्रदेशस्थित गोण्डा जिल्लाबाट नेपाली बालबालिकालाई सर्कसबाट उद्धार गर्दा उनीमाथि भौतिक आक्रमण समेत भएको थियो।
‘फोहरी, खतरनाक, असजिलो काममा रहेका नेपाली बालबालिकाहरूलाई उद्धार गरेर सत्यार्थीले ठूलो गुन लगाएका छन्,’ उनीसँग लामो सहकार्य गरेका अर्का अधिकारकर्मी गोपालकृष्ण सिवाकोटीले बताए, ‘अर्काको देशमा यी बालबालिकाले संगठित भएर आफ्नो आवाज उठाउन नसक्ने बेलामा उनले सहयोग पुर्याएका छन्।’
‘मैल उनलाई अत्यन्तै सक्रिय अधिकारकर्मीका रूपमा ३० वर्षदेखि निकटबाट चिनेको हुँ,’ उनले भने, ‘नेपाली बाधा मजदुर बालबालिका, महिला र युवाहरूसँग जोडिएका उनी हामीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा सँगै क्रियाशील भएका छौं। उनले पाएको यो उपलब्धि हाम्रा निम्ति पनि गौरवको विषय हो।’
बाल श्रम विरूद्ध सुरु भएको विश्व पदयात्रा काकडभित्ताबाट प्रवेश गरी काठमाडौं हुँदै वीरगञ्जबाट टुंगिएको थियो। नेपाली अधिकारकर्मीहरूले समेत भारतमा एक महिना लामो पदयात्रा गरेका थिए। पछि विश्व पदयात्रा फिलिपिन्सबाट सुरू भएर एक सय तीन देशमा पुगेको थियो।
‘उनी हाम्रा निम्ति नौला व्यक्ति होइनन्,’ सिवाकोटीले पुरस्कारको घोषणापछि गौरवान्वित हुँदै भने, ‘यिनी बाल श्रम विरुद्धको अभियानका बलिया अभियन्ता हुन्। यिनले आफ्नो अभियनका क्रममा ठूल्ठूला माफियाविरूद्ध पनि लड्नु परेको थियो।’