अमेरिकी सङ्घीय अदालतमा त्यहाँका नागरिक भन्दा विदेशी बढी दोषी ठहरिने र उनीहरूले कडा दण्ड सजाय पाउने सम्भावना बढी भएको बुधबार प्रकाशित एक अध्ययन प्रतिवेदनमा जनाइएको छ।
‘अमेरिकन सोसियोलोजिकल रिभ्यु’ मा प्रकाशित एक अध्ययन प्रतिवेदनमा सन् २००८ मा दोषी प्रमाणित भएका गैरअमेरिकी नागरिकमध्ये ९६ प्रतिशतले काराबासको सजाय प्राप्त गरेको र यसको तुलनामा अदालतमा दोषी प्रमाणित भएका ८५ प्रतिशत अमेरिकी नागरिकले यस्तो सजाय पाएको उल्लेख गरिएको छ।
अमेरिकी सङ्घीय अदालतमा दोषी प्रमाणित भएका गैरअमेरिकी नागरिकको सङ्ख्या गत दुई दशकमा पाँच दोब्बर वृद्धि भएको देखिएको पर्दु विश्वविद्यालयका समाजशास्त्रका सहायक प्राध्यापक माइकल लाइटले बताए। उनले यस अध्ययनको नेतृत्व गरेका थिए।
अनुसन्धानकर्ताहरूले सन् १९९२ देखि २००८ सम्मको अमेरिकी सङ्घीय जिल्ला अदालतका तथ्याङ्क विश्लेषण गरेका थिए।
एक विज्ञप्तिमा लाइटले गैरअमेरिकी नागरिकले त्यहाँका नागरिकको तुलनामा दुईदेखि चार महिना बढी काराबासको सजाय पाउने गरेको देखिएको उल्लेख गरेका छन्।
अनुसन्धानकर्ताहरूले आपराधिक इतिहास तथा गम्भीरता जस्ता विषयमा विश्लेषण गरेका थिए।
अमेरिकामा दुई करोड २० लाख गैरअमेरिकी नागरिक बसोबास गरिरहेको भन्दै यो अवस्थामा यो चिन्ताको विषय भएको लाइटले बताएका छन्।
उनले समान अधिकार भए पनि गैरअमेरिकी नागरिकले सङ्घीय अदालतमा समान व्यवहार प्राप्त नगरेको अध्ययनमा देखिएको बताए।
अध्ययनमा कागजात नभएका आप्रवासीहरूले पाउने दण्ड अझै कडा हुने गरेको देखिएको छ । रासस/एएफपी