राष्ट्रसंघको ६९ महासभामा भाग लिएर यूरोप भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले बिहिबार दिउँसो स्वदेश फर्कदै छन्।
स्वदेश फर्कनु अघि बुधवार उनले बेज्लियम स्थित वाटर लूको स्थलगत भ्रमण गरेका थिए।
नेपाली राजदूत राममणि पोखरेल सहित बरिष्ठ अधिकारीहरुलाई बल्जियम र लक्जेम्बर्ग लगायतका मुलुकका पर्यटकहरु अधिक संख्यमा नेपाल भित्र्याउन प्रबद्र्धनात्मक कार्यक्रम गर्न निर्देशन दिएका थिए।
यूरोपका २८ देशको साझा संगठनको रुपमा रहेको युरोपेली यूनियनको समेत राजदूत र राजदूताबासको काम गर्ने ब्रसेल्सको मिसन अझ सक्रिय बनाएर नेपाललाई हितहुने र नेपालका पक्षमा नीतिगत निर्णयहरु गराउन पनि सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
युरोप भ्रमणका क्रममा उनले युरोपियन काउन्सिलका अध्यक्ष र कमिसनका अध्यक्षसँग भेटघाट गरेका थिए। त्यसअघि,असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका कोइरालाले न्यूयोर्कमा रहँदा जलवायु परिवर्तन र सुरक्षा परिषद्सम्बन्धी सम्मेलनमा समेत भाग लिए।
एक साता लामो न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री कोइरालाले राष्ट्रसङ्घका महासचिव वान कि मुन, अमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद तथा श्रीलङ्काका राष्ट्रपति महेन्द्रा राजपाक्षसँग भेटवार्ता गरेका थिए।