नियम विपरीतको चेक काट्न अस्वीकार गरेका कर्मचारीलाई कुटेको आरोपमा नेपाली कांग्रेस कास्कीका उपसभापति विष्णु बास्तोलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। सोमबार पोखरा उपत्यका नगर विकास समितिको कार्यालयका लेखा अधिकृत दयामोहन आचार्यलाई कुटेका बास्तोलालाई मंगलबार पक्राउ गरिएको हो। बास्तोला समिति अध्यक्ष हुन्।
आचार्यले सुरक्षा मागसहित उजुरी गरेपछि कास्कीको हेम्जाबाट बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। सुरक्षाको माग गर्दै आचार्यले सोमबारै वडा प्रहरी कार्यालय बैदामा उजुरी दिएका थिए।
दुवैलाई राखेर मिलाउने प्रयास गरिएको जानकारी वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक सुन्दर तिवारीले दिए। तर सहमति नभएपछि उनलाई हिरासतमै राखिएको प्रहरीले जनाएको छ।
अध्यक्ष बास्तोलाले आफूले नपिटेको दाबी गरिहेका छन् भने आचार्यले आफूमाथि बास्तोलाले कुटपिट गरेको दाबी गरेका छन्। पोखरा—८ सिमलचौरस्थित विश्वेश्वर शिव पञ्चाङ्ग मन्दिरका लागि ५१ हजार रुपैयाँ र अर्को एक आमा समूहलाई ५१ हजार रुपैयाँ भुक्तानी दिन अध्यक्ष बास्तोलाले चेक काट्न भनेका थिए। तर मन्त्रालयको स्वीकृतबिना अनुदानका लागि चेक काटन् नमिल्ने भन्दै लेखा अधिकृतलेे चेक काट्न मानेका थिएनन्।
नियमविपरीत भुक्तानीका चेक काट्न अस्वीकार गरेका कारण आफूमाथि हातपात भएको आचार्यले बताए। बास्तोलाले ती दुई आयोजना स्वीकृत गरेका थिए। नगर विकास समिति ऐन २०४५ को १३ क मा नेपाल सरकारको मन्त्रालयको स्वीकृत बेगर अनुदान रकम भुत्तानी नदिन उल्लेख गरिएको छ।