नेपाली कांग्रेसका नेता सिद्धराज ओझाको निधन भएको छ।लुकोमिया रोगबाट पीडित ओझाको बिहीबार साँझ ७ बजे राजधानीको शिक्षण अस्पतालमा निधन भएको ह।
लुकोमिया रोगबाट पीडित भएर उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी सिद्धराज ओझाको त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
पूर्वमन्त्री समेत रहेका ओझा करिव दुई वर्षभन्दा पहिलेदेखि हप्तामा दुई पटक रगत फेर्नुपर्ने अति नै महँगो उपचार गराई रहेका थिए।
एकपटक यसरी रगत फेर्दा पचासौं हजार रुपैयाँ खर्च हुने गरेको थियो। महङगो उपचारका कारण विभिन्न सहयोगीहरुले उनको उपचारका लागि सहयोग संकलन समेत गरेका थिए।
नेविसंघका संस्थापक नेता समेत रहेका ओझा २०२२सालदेखि राजनीतिमा प्रवेश गरेका हुन्। २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको पालामा शेरबहादुर देउवासँगै ओझा मन्त्री बनेका थिए। त्यसयता पटकपटक मन्त्री तथा दुई पटक नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत भएका ओझा डोटीबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमाञ्चलका असल नेतामा गनिन्थे।
उनले विगतमा कानुन तथा न्याय, सामान्य प्रशासन, वन तथा भू-संरक्षण र भूमिसुधार तथा व्यवस्थामन्त्रीको रुपमा पनि जिम्मेवारी बहन गरिसकेका थिए।
२००१ सालमा डोटीमा जन्मिएका ओझाकी श्रीमती गतवर्ष वितेकी थिइन्। ओझाको १ छोरा र एक छोरी छन्।
अन्तिम श्रद्धाञ्जलिका लागि ओझाको पार्थिव शरीर शुक्रबार बिहान ८ बजेबाट पार्टी कार्यालयमा सानेपामा राखिने भएको छ।