नेपाली कम्युनिष्ट आन्दोलनकी शीर्ष नेतृ साहना प्रधानको ८८ वर्षको उमेरमा निधन भएको छ। साढे ३ महिनादेखि अस्पताल भर्ना भएर अचेत अवस्थामा रहेकी प्रधानको सोमबार राति ११ बजे निधन भएको हो।
कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठसँग बिहे भएर मात्र उनी कम्युनिष्ट भएकी होइनन्। बर्मामा ब्यापार गरी फर्केको परिवारकी सदस्य साहना आफ्नो विद्यार्थी जीवनमै कम्युनिष्ट आन्दोलनमा सरिक भइसकेकी थिइन्।
उनका दाजु स्वर्गीय गौरीभक्त प्रधान पनि कम्युनिष्ट पार्टीका पुराना नेता हुन्। हुनेखाने परिवारमा जन्मेर सुशिक्षित साहना तल्लो वर्गको उत्थानको सपना देखेर ६ दशकभन्दा लामो अवधि सर्घषमा होमिइन्। पुष्पलालको राजनीतिक विचारमा सहयोगीको भूमिका खेल्दै आएकी उनले केही वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिन्।
तत्कालीन नेकपा (पुष्पलाल समुह)मा आबद्ध भएर पंचायत विरोधी आन्दोलनमा अग्रणी भूमिका खेलिरहेकी साहनालाई प्रशासनले तारो बनायो।
२०३४ सालमा उनको जागिर खोसियो। त्यसको केही वर्षमा पुष्पलालको निधन भयो। अनि पुष्पलाल समूह र मनमोहन अधिकारीको नेतृत्वको नेकपा मार्क्सवादीबीच एकता भयो। अब उनी मार्क्सवादी समूह मार्फत कम्युनिष्ट आन्दोलनमा लागिरहिन्। नाताले अधिकारी उनका भिनाजु हुन्। उनकी दिदी साधना पनि पार्टीमै सक्रिय थिइन्।
जनमत संग्रहपछि साहना आबद्ध मार्क्सवादी पार्टी खुम्चिँदै गयो। झापा आन्दोलनको रापले मौलाएको नेकपा माले फैलिँदै गयो।
सिपी मैनाली, झलनाथ खनाल, माधव नेपाल, मदन भण्डारीजस्ता युवा नेता नेतृत्व पंक्तिमा रहेको माले मेची अंचलदेखि लुम्बिनीसम्म सशक्त नै भइसकेको थियो।
२०४३ सालको निर्वाचनमा मालेका जनपक्षीय उमेद्वारहरु द्रोणाचार्य क्षेत्री, विरोध खतिवडा,राजेन्द्र पाण्डे, जागृतप्रसाद भेटवाल, सोमनाथ प्यासी, पदमरत्न तुलाधर लगायत सुपरिचित बनिसकेका थिए।
त्यसकै केही पछि जनआन्दोलनको तयारी भयो। कम्युनिष्ट घटकहरु मध्ये संगठनको हिसाबले माले मजबुत थियो।
माले,मार्क्सवादी, नेकपा मानन्धर लगायत ७ वटा बामपार्टीहरुको मोर्चा बन्यो। पुष्पलालले सपना अनुसार पंचायत ढाल्न कांग्रेस र बाममोर्चाले संयुक्त जनआन्दोलन गर्ने भए। कांग्रेस र कम्युनिष्टको यो पहिलो सहकार्य हुँदै थियो।
कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह, कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईहरुले माले, मानन्धर वा अरु घटकलाई मार्क्सवादीलाई जति भर गरेनन्।
कम्युनिष्ट आन्दोलन भित्रमात्र होइन, बाहिरका प्रजातान्त्रिक शक्तिलाई पनि ग्राह्रय हुने व्यक्तित्वको खोजी भयो। वाममोर्चाले अध्यक्षमा साहनालाई चुन्यो।
जनआन्दोलन सफल भयो। ३० वर्ष जरा गाडेको पंचायती व्यवस्था ढल्यो। यो विन्दु नै साहनाको राजनीतिक करियरको शिखर हो। जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान थिए भने साहना त्यो निशस्त्र सर्घषको दोस्रो प्रमुख नेता (टु वाइ सी- सेकेन्ड इन कमान्ड) थिइन्।
स्वभाविक रुपले त्यसपछि बनेको भट्टराई सरकारमा वरिष्ठ सदस्यको हिसावले साहना उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री भइन्।
जनआन्दोलनले धपक्कै बलेको उनको व्यक्तित्व मन्त्री बनेपछि थप चम्किएन। सुशासनको मामिलामा साहना झिनामसिना विवादमा पनि मुछिइन्। यो कसिङ्गरलाई उनको राजनीतिक उचाइले सहजै ढाकिदियो।
भट्टराई सरकारले एक वर्षमै संविधान र निर्वाचनको कार्यभार पुरा गर्यो। अहिलेको संविधानसभाजस्तो पटक पटक 'ग्रेस मार्क'को आवश्यकता परेन। त्यो अहिले फर्किएर हेर्दा त्यो 'महान उपलब्धी' को लाभांशको हकदार साहना पनि भइन्। चुनाव घोषणा भयो। मार्क्सवादी पार्टीसँग मनमोहन अधिकारी, साहना, भरतमोहन अधिकारी, बलराम उपाध्यायजस्ता नेपाल र भारतमा समेत चिनिएका नेता थिए।
मालेसँग जुझारु युवा पंक्तिको नेतृत्व र संगठन थियो। महासचिव मदन भण्डारीलाई समेत 'दुलोबाट निस्केको भनेर' अरु बाम घटक र कांग्रेस लगायत पार्टीले खिसिट्युरी गरिरहेका थिए। त्यस्तो अवस्थामा पार्टी एकता गर्दा मालेले फेस पाउँथ्थो, मार्क्सवादीले वलिष्ठ शरिर र हातखुट्टा। अधिकारी र साहनाहरुको निर्णयले पार्टी एकता भएर नेकपा एमाले जन्मियो।
२०४८ सालको निर्वाचनमा साहना सक्रिय थिइन्। उपत्यकाका सबै निर्वाचन क्षेत्र र काठमाडौं बाहिर कतिपय क्षेत्रमा पनि सूर्यमा भोट माग्न पुगिन्। काठमाडौं र ललितपुरमा ८ मध्ये ७ सिटमा सूर्यको झन्डा गाडियो। यसमा सहानाको पनि लगानी छ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट गणेशमान पुत्र प्रकाशमानलाई धेरै पछाडि छाड्दै साहनाले विजयको माला पहिरिइन्।
सायद, २०५ क्षेत्रमध्ये साहनाले सबैभन्दा धेरै मत ल्याइन्। त्यहीबीचमा उनी आन्दोलनको नेतृत्व पनि गरिरहेकी थिइन्। अखिल नेपाल महिला संघको अध्यक्षदेखि महिला अधिकार दबाब समूहको अगुवाइसमेत उनले गरिन्।
छोटो अवधि वनमन्त्री भएकी साहना आफ्नो विज्ञता भएको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको कमाण्ड पनि सम्हालिन्।
महाकाली सन्धिले एमाले विभाजनको मुखमा पुग्यो । उनले त्यतिबेला चर्का कुरा गर्ने बामदेव गौतम र सिपी मैनालीहरुको गुटलाई रोजिन । २०५४ को अन्तिमतिर बनेको नेकपा मालेको अध्यक्ष भईन । वामदेव त्यसका महासचिव भए ।
उमेर पनि ढल्कँदै गइरहेको थियो। उनी अध्यक्ष भएको माले २०५६ सालको निर्वाचनमा शून्य सिटमा झर्यो, साहनाको राजनीतिक गतिविधि पनि पातलिँदै गयो।
त्यसपछि उनी झन् कम सक्रिय हुँदै गइन्। फेरि एमाले र माले एकता भयो। एमाले पार्टी नेतृत्व पंक्तिमा पुनर्स्थापित भइन्। २०६२/६३ को जनआन्दोलनमा उमेर र प्रतिकूल स्वास्थ्य बाबजुद उनको सक्रियता रह्यो। पार्टीले फेरि महत्वपूर्ण भूमिकामा खटायो।
गिरिजाप्रसाद नेतृत्वको सरकारमा पार्टीका तर्फबाट नेतृत्व सहित पार्टीले सरकारमा पठायो। परराष्ट्र मन्त्रालय सम्हालिन्।
स्कुलदेखि कलेजसम्म राम्रो शिक्षा हासिल गरेकी, भारत प्रवासमा पनि बसेकी र अध्ययनशील स्वभावले कुटनीति नौलो विधा भएन।
यो खेपमा पनि मन्त्रालयको कामकाजमा परिवारका सदस्यलाई प्रभावी हुन दिएको आरोप भने लाग्यो। चुनावी सरकारबाट विदा भएपछि उनी खासै सक्रिय थिइनन्।
प्रतिकूल स्वास्थ्यले च्याप्दै लगेर २०४६ सालको यी सहकमाण्डरलाई ढाल्यो। जीवनमा उज्यालो र अध्यारो पक्ष अनिवार्य हुन्छ। गुन र वैगुनले मात्र भरिएको कोही हुँदैन। साहना पनि अपवाद थिइनन्।
महिलालाई सार्वजनिक जीवन प्रवेशबाट अंकुसे लगाइने कालखण्डमा जन्मेहुर्केर पनि साहनाले परिवर्तनको आन्दोलनमा अमिट योगदान पुर्याएकी छिन्। २०४६ सालको जनआन्दोलनमा वाममोर्चाको नेतृत्व नेपालको चिरकालसम्म स्मरण भइहने उनको योगदान हो।