३३२ दिन अन्न नखाई बस्नुृ आम मानिसको कल्पना बाहिरको कुरा हो। दश वर्षअघि माओवादीले चितवन टाँडीमा मारेका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्याराको कारबाहीको माग गर्दागर्दै नन्दप्रसादले प्राण त्यागेका छन्।
नन्दप्रसाद र गंगामायाको स्वास्थ्य ज्यादै नाजुक देखेर मानवअधिकारवादी सुदीप पाठकले गृह मन्त्रालयलाई सोमबार बिहानै सजग गराए। उनीहरुको ज्यान बचाउन लचकदार भइदिन आग्रह गरे। तर सरकार त्यसमा गम्भीर बनेन।
एसएलसी दिएर हजुरआमा भेट्न चितवन गएको छोरोको शोक र कठोर संघर्षबाट नन्दप्रसादले विदा लिएका छन्। ३३२ दिन निराहार बस्नुअघि अधिकारी दम्पतीले भोगेको दुखको कथा दर्दनाक छ। न्यायको माग गर्दै उनीहरुले पटकपटक अनसन बसे। न्याय माग्दै प्रधानमन्त्रीको निवास अगाडि सत्याग्रहमा बसे।
आस्था र न्यायका लागि निशस्त्र लडाई लडेको यो जोडी सोमवारदेखि छुट्टिएको छ। वीर अस्पतालको कोठाका सँगसँगै रहेको एउटा बेड खाली भएको छ।
चितवन प्रहरीले कृष्णप्रसादको हत्याको अभियोगमा चौधलाई अभियुक्त बनाएपनि सबै छुटिसकेका छन्।
त्यसपछि दम्पत्ति झन् निरास भए। कठोर संघर्ष गरे। उनीहरुलाई हतोत्साही गराउन सरकारले घरि मानसिक रोगी दर्ज गराउन खोज्यो। मानसिक अस्पतालले नमानेपछि कहिले गोरखा कहिले थानकोट कटायो।
छोराको हत्यारालाई सजाय दिलाउने भिष्म प्रतिज्ञा गरेका उनीहरु निरुत्साहित भएनन्। सबै सरकारको प्रताडन र उदासिनता सहिरहे।
नन्दप्रसादको मृत्युबाट भने सरकार अलिकति झस्किएको छ। प्रधानमन्त्री सुशील कोइराला राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका भ्रमणमा रहेको बेला यो घटना भएको छ। लोकतन्त्र, न्याय र मानवअधिकारको विषयमा अन्तर्राष्ट्रिय फोरममा निकै उदार रुपमा प्रस्तुत हुने सरकारलाई निश्चय नै यो घटनाले अप्ठेरो महशुस हुनेछ।
'नेपालमा संक्रमणकालीन न्यायको अवस्था नाजुक अवस्थामा पुगेको छ,' मानवअधिकारवादी गोपालकृष्ण शिवाकोटीले भने, 'यसले अन्तर्राष्ट्रिय छविमा आँच पुर्याउनेछ।'
न्यायको धरोहर भएकै कारण उभिएका कारण नन्दप्रसादले मृत्युवरण गर्नुपरेको भन्दै उनले भने, …राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो सरकारलाई गम्भिर रुपमा प्रशन सोध्ने ठाउँ भएको छ।'
अधिकारी दम्पत्तिलाई न्याय दिलाउन मानवअधिकारवादीहरु कनकमणि दिक्षित, सुवोधराज प्याकुरेल, सुदीप पाठक, चरण प्रसाई, रसना ढकालहरु सक्रिय थिए। उनीहरुले अधिकारी दम्पत्तिलाई उक्साएको आरोप लगाउनेहरु पनि थिए।
नन्दप्रसादको अन्तिम अवस्थामा पनि प्रसाई बाहेक चारजाना सँगै थिए। दिक्षितले निकै गम्भिर अवस्था देखेर निकै सम्झाए। पाठक मानवअधिकार आयोगमा सिफारिश भएकाले आधिकारिक निकायबाट न्याय दिइने आश्वासन पनि दिइयो। तैपनि अन्न मुखमा हाल्न मानेनन्। हात हल्लाएर अस्वीकार गरे। अपरान्ह पाँच बजे सास गयो।
पुत्रवियोगले मात्र मानिसमा न्यायका लागि लड्ने यत्रो साहस आउँदैन। अधिकारी दम्पत्तिसँग दुई वर्षदेखि बाक्लो सम्पर्कमा मानवअधिकारवादीहरु उनीहरुलाई 'सत्याग्रहका कठोर हिमायती' ठान्छन्।
मानवअधिकारवादी सुवोधराज प्याकुरेलले यो मृत्युलाई 'संवैधानिक लोकतान्त्रिक गणतन्त्रिक नेपालमा सर्वसाधरणलाई न्याय दिनेमा सबै सरकारको असफलताको परिचायक हो।'
यसले नेपालको लोकतन्त्रको संसारभरि बेइज्जत भएको ठहर उनको छ। 'प्रधानमन्त्री ठूलठूला कुरा गर्न न्यूयोर्कमा हुनुहुन्छ, उहाँलाई गाँस गाँसमा ढुंगा लाग्नेछ।'
गृहमन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गर्दा पनि उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले चासो नदिएको प्याकुरेलले बताएका छन्। 'वामदेव गौतमले बचाउन सक्दिन भन्नुहुन्थ्यो,' उनले भने, 'उहाँको बचन पुरा भएको छ।'
गौतमले अर्को बचन पनि दिएका थिए। प्याकुरेलले भने, 'अपराधीलाई कारबाही गर्छु भन्नुभएको थियो। त्यो चाहि कहिले पुरा होला!'
पतिको मृत्यु भएको गंगामायाले तत्कालै चाल पाइन। प्याकुरेलसँगै उनले भनिन्, 'अब म रहेपनि नरहेपनि जीवनको के मूल्य रह्यो र। हामीलाई मर्न बाध्य पार्नेले अब जेठो छोरालाई पनि मार्छन्।'