हृदयघात भएर राजधानीको नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ११ बजे डिस्चार्ज भएका छन्।
स्वास्थ्यमा सुधार भएपछि शाहलाई डिस्चार्ज गरिएको अस्पतालका नायव महाप्रवन्धक आरपी मैनालीले जानकारी दिए। अस्पतालबाट बाहिरिने क्रममा पूर्वराजाले शुभचिन्तकहरुलाई 'म आराम छु। ठिक भएँ' भनेका थिए।
स्वास्थ्यमा सुधार भएकाले उनलाई अस्पतलले डिस्चार्ज दिएको मैनालीले बताए। उनको उपचारमा संलग्न डा. भरत रावतका अनुसार ६७ वर्षीय शाहले नियमित खानपिनसँगै अलिअलि हिँडडुल पनि थालिसकेका छन्।
उनलाई शनिबार राति हृदयघात भएको थियो। राति साढे ९ बजेतिर अचानक छाती दुख्ने, पसिना आउने र रिंगटा लाग्ने लक्षण देखिएपछि नर्भिक अस्पताल पुर्याइएको थियो।
उपराष्ट्रपति परमानन्द झा, राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङ, ऊर्जामन्त्री राधा ज्ञवाली लगायतका पूर्वमन्त्री तथा नेताहरूले अस्पताल पुगेर पूर्वराजाको स्वास्थ्यलाधको कामना गरेका थिए।
राप्रपा नेपालका महासचिव चन्द्रबहादुर गुरूङलाई भेट्दै पूर्वराजाले ,म अहिले पूर्ण स्वस्थ्य भइसकेको छु,मेरो बारेमा कुनै चिन्ता लिनु पर्दैन। मेरो स्वास्थ्य लाभको कामना गर्न जति आउनुभएको छ सबैलाई मेरो धन्यवाद सुनाइदिनू,' आफूसँग राजाले गरेको कुराकानी सुनाउँदै महामन्त्री गुरूङले भने,' कमल थापाजीलाई पनि चिन्ता नलिनू काम सकेर मात्र आउनू भनेर भन्नुभयो।'
प्रफुल्ल मुद्रामा रहेका पूर्वराजाले सबैलाई धन्यवाद दिनुभएको महामन्त्री गुरूङले बताए।
पूर्वराजाको स्वास्थलाभका कामना गर्न सोमबार बिहान अस्पताल परिसरमा सयौंको संख्यामा शुभेच्छुकहरू उपस्थित भएका छन्। यसैबीच राप्रपा नेपालको आकस्मिक बसेको पदाधिकारी बैठकले पूर्वराजाको स्वास्थ्य लाभको कामना गरेको राप्रपा नेपालका प्रवक्ता मोहन श्रेष्ठले बताए।