नेपाली राजनीतिक नेतृत्वको निकट भारतप्रतिको बुझाइ तिनको स्थितिअनुसार फरक हुने गरेको छ। सत्तामा हुँदा भारतलाई हेर्ने दृष्टिकोण सत्ताबाट हट्दा फरक पर्ने गरेकाले सर्वसाधारणमा पनि त्यसको प्रभाव पर्ने गरेको देखिन्छ।
एनसेल नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन आइतबार चारजना पत्रकारले भारतबारे बुझ्न र बुझाउन एउटा सत्रमा प्रयत्न गरेका छन्। हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपालले सञ्चालन गरेको छलफल कार्यक्रमका सहभागी हिन्दुस्तान टाइम्सका सहसम्पादक प्रशान्त झाले राजनीतिक दलहरूको सत्तामा रहँदा र हट्दाखेरीको भारतप्रतिको बुझाइ फरक पर्ने गरेको बताए।
राजदूताबास, जासूसी संयन्त्र र राजनीतिक समूहजस्ता विभिन्न संयन्त्र भारतमा रहेको हुनाले भारतलाई एउटै रूपमा मात्र हेर्न नसकिने झाको विश्लेषण थियो। जनआन्दोलन २०६२/६३ ताक भारतको भूमिका सकारात्मक भए पनि माओवादी र मधेसीसँगको सम्बन्धका कारण नेपालको एउटा पक्ष बेखुस रहेको उनको ठम्याइ थियो।
'नेपालमा राजनीतिक स्थितिअनुसार भारतप्रतिको बुझाइ निर्धारित हुने गरेको छ,' झाले भने, 'भारत सरकारले कसरी काम गर्छ भन्ने हाम्रो बुझाइ ठीक छैन।'
केहीअघिसम्म नेपालमा भारतीय जासूसी संयन्त्र सक्रिय छ भन्ने गरिएकोमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि राजनीतिक संलग्नता बढेको चर्चा हुने थालेको सन्दर्भ उल्लेख गर्दै झाले भने, 'भारतका राजनीतिकर्मी, कुटनीतिज्ञ, जासूस सबै एउटै संयन्त्रका अंग हुन्।'
अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक युवराज घिमिरेले नेपाल र भारतबीच स्वार्थ जोडिएका कारण केही विषयमा सँगै जान सकिने र केहीमा नेपालले एक्लै आफ्नो हितअनुसार अघि बढ्ने चुनौतीलाई कसरी आत्मसात गर्ने भन्नेमा सोच्न आग्रह गरे।
जनआन्दोलन २०६२/६३ पछि नेपालमा भारत जति लोकप्रियि भएको थियो, त्यति कहिल्यै भएको थिएन भन्दै घिमिरेले १२ बुँदेयता नेताहरू सानो विषयबारे सोध्न पनि भारत र भारतीय दूताबास धाउन थालेपछि शंकाको स्थिति पैदा भएको बताए। हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंहबाट नेपाललाई राजनीतिक व्यवहार गर्न सकिने केही संकेत देखिएको पनि उनले उल्लेख गरे।
दी काठमाडौं पोस्ट्का प्रधान सम्पादक अखिलेश उपाध्यायले दुई ठूला देशहरूको बीचमा रहनु नै नेपालको असुरक्षित महसुस गर्ने कारण रहेको लियो इ रोजको पुस्तक 'स्ट्राटेजी फर सर्भाइभल'लाई उदृत गर्दै बताए। 'भारत र चीनको आर्थिक वृद्धिले असुरक्षा झनै बढेको छ,' उपाध्यायले भने।
तर, भारत भन्ने बित्तिकै कुन भारत भन्ने प्रश्न आउने उल्लेख गर्दै उपाध्यायले कर्मचारीतन्त्र, कुटनीति, राजनीति र जासूसी संयन्त्रका कारण भारतलाई बुझ्ने दृष्टिकोण फरक हुने गरेको बताए।
'नेपालको राजनीतिक वर्गले हल्काफुल्का टिप्पणी गर्दा समेत बेलाबेलामा रनभुल्लमा पर्ने गरेको उनले उल्लेख गरे। उनले सञ्चार माध्यममा पनि राजनीतिक दलको अन्योल देखापर्ने गरेको उनले चर्चा गरे ।