नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले विगतमा भएको चार बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न तयार हुँदा पनि प्रतिपक्ष दल एमाओवादीले सदनको अवरोध जारी राखेको आरोप लगाएका छन्।
एमाओवादी लगायत मधेशवादी दलहरुले गत पुस ९ गते भएको चार बुँदे सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै संसदको बैठक दशौंदिन पनि अवरोध गरेपछि संसद भवनबाट बाहिरीदै गरेका कांग्रेस कार्यबाहाक सभापति पौडेलले यस्तो आरोप लगाएका हुन।
हामीले उनीहरुको माग अनुसार चार बुँदै सहमतिको कायान्यन गरी उच्चस्तरिय राजनीतिक संयन्त्र गठनमा सहमत हुदाँ पनि सदनको कारबाही अवरुद्ध गर्यो, उनले थप्दै भने, एमाओवादीले संसद अवरोध गरेर के गर्न खोजेको हो?
एमाओवादीले एउटा बुँदामा सहमति गर्यो अर्को नलेखिएको र सहमति नभएको माग तेर्साएर अत्तो थाप्दै समस्यालाई जटिल बनाएको पौडेलको आरोप थियो।
पहिले सहमति नै नभएको संयन्त्रको अध्यक्ष स्थायी रुपमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहियो भने, यस्तो पनि हुन्छ?, उनले प्रश्न गरे।
कांग्रेस र एमालेले संयन्त्रको नेतृत्व रोटेशनमा गर्न अडान लिइ रहेको छ।
एमाओवादी माग अनुसार राजनीतिक संयन्त्र बनाउन खोज्दा फेरी स्थायी रुपमा संयन्त्रको अध्यक्ष चाहियो भनेपछि यो संयन्त्रको माग प्रति नै आशंका लाग्न थाल्यो, उनले भने। प्रचण्डको यो अडानले उनीहरु संविधान निर्माण प्रक्रियामा संयन्त्रको आडमा अवरोध खडा गर्न चाहेको आरोप पनि लगाए।
राजनीतिक संयन्त्र गठनमा एमाओवादीले मधेशवादी दलका तर्फबाट तीन र संघिय समाजवादी पार्टी नेपालका अशोक राईलाई पनि सहभागी गराउन माग गरिरहेको छ। तर कांग्रेस र एमालेले एमाओवादी बाहेक मधेशीमोर्चाका दुई र पहिलेको सातदलका तर्फबाट नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, नेकपा मालेका सिपि मैनाली र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीलाई पनि सहभागी गराउन पर्ने प्रस्ताव राखीरहेको छ।
संयन्त्रको क्षेत्राधिकारबारे उल्लेख गर्दै पौडेलले संयन्त्रको काम शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आवश्यक सहयोग पुर्याउने बताए पनि एमाओवादीले संविधान निर्माण र सरकार संचालनका विषय पनि समावेश गर्न माग गरिरहेकेा छ।