अखिल भारतीय गोर्खा लिगका तत्कालिन अध्यक्ष मदन तामाङको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका १८ जनाले जमानत पाएका छन्।
सन् २०१३ को जुलाई महिनामा आत्मसमर्पण गरेपछि थुनामा रहेका दार्जेलिङ पहाडको चचिर्त तामाङ हत्याकाण्डका हत्या प्रकरणमा अठारै जना अभियुक्तले जमानत प्राप्त गरेका हुन्। दार्जेलिङ उच्च अदालतले अभियुक्तहरुको कसुरका आधारमा जमानत दिन सकिने फैसला सुनाएको हो।
जमानत पाउने अभियुक्तहरुमा पुरण थामी, किस्मत क्षेत्री, केशवराज पोखरेल, सुरज सिंह, अरुण मोक्तान, आलोककान्तमणि थुलिङ, दिनेश गुरुङ, प्रविण सुब्बा, सञ्जय तामाङ, किशोर राई, नगेन्द्र प्रधान, तेञ्जिङ खाम्बाचे, अमोल लामा, दावासाङगे शेर्पा, नरेश राई, सोना शेर्पा, कमल सिन्हा र भानु राई छन्।
उनीहरुमाथि आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएको अभियोग पनि लागेको छ। प्रतिवादी वकिलहरुले अन्य अभियोगमा पनि धरौटीका लागि दार्जेलिङ अदालतमा अपील गरिने बताए। तामाङ हत्या प्रकरणमा ३१ जनामाथि अभियोग लागेको थियो।
जसमध्ये ९ जना यसअघि नै रिहा भइसकेका छन्। दुई जनाको मृत्यु भएको छ। मुख्य अभियुक्त निकोल तामाङ प्रहरी हिरासतबाटै फरार भएका छन्। जमानत दिएपनि उनीहरुलाई दार्जीलिङ, सिक्किम र जलपाइगुडीबाट बाहिर नजान अदालतले आदेश दिएको छ।
यसैबीच, मदन तामाङकी श्रीमती भारतीले अभियुक्तहरुको रिहाईप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत जाने चेतावनी दिएकी छन्। उनले सीबीआईले अनुसन्धानका सबै प्रतिवेदन अदालतमा नदिएकाले उनीहरु रिहा भएको बताइन्। लिगका तल्कालिन अध्यक्ष तामाङको सन् २०१० को मे २१ तारिखका दिन क्लब साइडमा जनसभाको तयारी भइरहेका बेला दिनदहाडै हत्या भएको थियो।