भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालको सामाजिक–आर्थिक विकासमा हरतरहले सघाउन भारत तत्पर रहेको बताएका छन्।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का आन्तरिक मामिला/गृहमन्त्रीहरूको छैटौँ बैठकमा भाग लिन राजधानीमा रहेका उनले स्वदेश प्रस्थान गर्नुअघि शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारले विकास निर्माण योजना बनाएर भारतसमक्ष प्रस्तुत गरेमा जस्तोसुकै सहयोग गर्न आफ्नो मुलुक तयार रहेको बताएका हुन्।
तीनदिने नेपाल बसाइका क्रममा आफूले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमसहित सबै राजनीतिक दलका नेतासँग बेग्लाबेग्लै भेटवार्ता गरेको र उहाँहरूले निर्धारित मितिमा संविधान जारी गरेर नेपाललाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने प्रतिबद्धता व्यक्त गरेको जानकारी गराए।
भारतले नेपालमा शान्ति, स्थायित्व र समृद्धि कायम होस् भन्ने चाहेको भन्दै उनले दुवै मुलुक शान्ति, समृद्धि र स्थायित्वका निम्ति परिपूरक भएको बताए। भारत–नेपाल सम्बन्धका विविध आयामबारे चर्चा गर्दै उनले प्रागऐतिहासिक त्यो सम्बन्ध उत्तिकै भावनात्मक एवम् सुमधुर रहेको बताए।
भारतीय सुरक्षा निकायहरूमा रहेर नेपाली नागरिकले रगत पसिना बगाएकामा त्यसको मुक्तकण्ठले प्रशंसा गर्दै श्री सिंहले नेपाल मात्र विश्वमा त्यस्तो एक्लो देश हो जसका नागरिक भारतीय सैन्यमा सेवारत रहेको बताए।
प्रधानमन्त्री नरेन्द्र मोदीको गत महिना सम्पन्न नेपाल भ्रमणबाट दुवै मुलुकमा सकारात्मक प्रभाव परेको बताउँदै उनले भारतीय कम्पनी जिएमआर र नेपाल लगानी बोर्डबीच माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्न भएको आयोजना विकास सम्झौताबाट नेपालको आर्थिक विकासमा वैदेशिक लगानीका निम्ति ढोका खुलेको विचार व्यक्त गरे।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा दुवै मुलुकबीच सम्झौता हुनु भारत र नेपालका लागि ठूलो उपलब्धि हो– उनले भने, “विकासका साझेदार हामीले एकअर्काका भावना र चाहनाको कदर गर्दै दुवै देशका जनताको हित प्रवद्र्धनमा अघि बढ्नुपर्छ ।”
सार्क मन्त्रिस्तरीय बैठकमा आफूहरूबीच आतङ्कवाद, आपराधिक गतिविधि नियन्त्रण, जाली नोटको कारोबार, मानव तस्करी, लागुऔषध ओसारपसारलगायत सार्क क्षेत्रबाट अपराधलाई निमिट्यान्न पार्न एकताबद्ध भई अघि बढ्ने सहमति भएको जानकारी भारतीय गृहमन्त्रीले दिए।
सार्क मुलुकमा सुशासन प्रवद्र्धन तथा प्रशासनिक अनुभव आदानप्रदान गर्नेसम्बन्धी संयन्त्र स्थापनाको प्रस्ताव गरेको जानकारी दिँदै उनले सार्क प्रक्रिया अब सुस्त नरहने बताए। सार्कले गति नलिएकामा निरास नहुन पनि उनले आग्रह गरेका थिए।
एक प्रश्नको जवाफमा उनले धर्म निरपेक्ष नेपाल नेपाली जनताको निर्णयमा निर्भर रहने र त्यसमा टिप्पणी गर्न जरुरी नभएको स्पष्ट गरे। सार्वभौम राष्ट्र नेपालका जनताको निर्णयलाई हामी शिरोधार्य गर्छौ– मन्त्री सिंहले भने।
नेपाल–भारत प्रत्यर्पण सन्धिबारे सोधिएको अर्को प्रश्नको उत्तर दिँदै उनले नेपाली अधिकारीहरूसँग त्यस सम्बन्धमा छलफल भइरहेको र निर्णय हुन बाँकी रहेको जानकारी दिए। सुरक्षासँग सम्बन्धित धेरै विषयमा छलफल भएको र त्यसले थप निरन्तरता पाउने उनको कथन थियो ।
नेपाल भ्रमणबाट आफू पूर्ण सन्तुष्ट रहेको र त्यो अत्यन्त फलदायी रहेको भन्दै मन्त्री सिंहले नेपालमा सङ्घीय लोकतान्त्रिक एवम् समावेशी संविधान तोकिएको मितिमा जारी हुनेमा भारत विश्वस्त रहेको बताए। रासस