नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पिडिए) सम्पन्न भएको छ।
प्रधानमन्त्री सुशील कोइराला र भारतका गृहमन्त्री राजनाथ सिंहको उपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जोन राव (जिएमआर) का ऊर्जा अध्यक्ष एवम् नेपाल प्रमुख अरविन्द मन्चा शेशानले आज सो सम्झौतामा हस्ताक्षर गरेका हुन्।
त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले जिएमआरसँग माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणमा भएको सम्झौताले मुलुकको आर्थिक समृद्धिको ढोका खुलेको बताए।
उनले भने, 'निजी क्षेत्रको लगानीमा यति ठूलो आयोजनामा पहिलोपटक सम्झौता भएको र त्यो नेपाल र नेपालीको हितमा प्रयोग हुनेछ।'
त्यसैगरी भारतीय गृहमन्त्री सिंहले भारत–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै भारतले नेपालमा शान्ति समृद्धि र स्थायित्व चाहेको बताए।
उनले भने “भारत नेपालको समृद्धि चाहन्छ छिमेकीहरूको समृद्धिबाटै भारतको पनि समृद्धि हुनेमा हामी विश्वस्त छौँ”, उहाँले भारतको प्रख्यात निजी क्षेत्रको कम्पनी जिएमआरलाई निर्धारित समयभित्रै आयोजना निर्माण गर्न आग्रह गरे।
साथै उनले कम्पनीको विश्वसनीयता र शाखमा आँच आउनु नहुने बताए।
हस्ताक्षर समारोहमा मन्त्रिपरिषद्का सदस्यहरू, नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरू, नेपालका लागि भारतका राजदूत र नेपाल सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।