प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।
प्रधानमन्त्री कोइराला आज अपराह्न ४:५० बजेको इवाइ २९१ नम्बरको उडानबाट संयुक्त अरब इमिरेट्सको आबुधाबी हुँदै त्यसतर्फ प्रस्थान गरेका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख सुवाचन्द्र नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, मन्त्रीहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख र नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीले बिदाई गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो।
अवुधाबीमा रहँदा प्रधानमन्त्री कोइरालाले भोलि असोज ४ गते मध्यपूर्व पश्चिम एसिया र उत्तर अफ्रिकाका नियोगमा कार्यरत नेपाली कूटनीतिज्ञसँग नेपाली कामदारको समस्या समाधानका विषयमा जानकारी लिई विशेष निर्देशनसमेत दिने कार्यक्रम तय भएको छ ।
न्युयोर्क पुग्ने वित्तिकै आउँदो सोमबार प्रधानमन्त्री कोइरालाको मेमोरियल स्लोन क्यान्सर अस्पतालमा स्वास्थ्य अनुगमन परीक्षण हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीले महासभालाई यही असोज १० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कोइरालाले राष्ट्र सङ्घका महासचिव वान कि मुनसँग असोज ११ गते विशेष भेटवार्ता गर्नेछन्।
मन्त्रालयका अनुसार प्रधानमन्त्री कोइरालाले असोज ७ गते जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घका महासचिव मुनले आयोजना गर्ने विशेष समारोहमा मन्तव्य दिनेछन्।
न्युयोर्कमा रहँदा महासभामा भाग लिने सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा महासचिव मुन र अमेरिकी राष्ट्रपति बाराक ओवामाले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री कोइराला सहभागी हुनेछन्।
प्रधानमन्त्री कोइराला महासभासम्बन्धी कार्यक्रम सकेर यही असोज १६ गत बेलुका ३:४५ बजे स्वदेश फर्किनेछन् । सो क्रममा न्युयोर्कबाट बेल्जियमको ब्रसेल्समा रहँदा प्रधानमन्त्रीले युरोपेली मुलुकमा कार्यरत नेपाली नियोग प्रमुखको संयुक्त बैठकमा सहभागी भई आवश्यक निर्देशन दिनेछन्।
प्रधानमन्त्री कोइरालाका साथ नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, प्रधानमन्त्रीका प्रमुख निजी सचिव वसन्तकुमार गौतम, कामु परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीको अवैतानिक जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, मन्त्रालयका सहसचिव दिपक धिताल, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, परराष्ट्र मन्त्रीका जनसम्पर्क सल्लाहकार अश्विनकुमार पुडासैनीलगायत रहेका छन्।