काठमाडौंस्थित अन्तर्राष्ट्रिय समुदायले नयाँ संविधान लेख्ने सबै दल र प्रमुख सरोकारवालाहरूको प्रयासमा सघाउन आफूहरू एकै ठाउँ भएको बताएको छ।
विभिन्न २२ देशका राजदूत र तिनका प्रतिनिधि सम्मिलित मंगलबारको नियमित बैठकले यहाँका घटनाप्रति आफ्नो चनाखो दृष्टिकोण रहेको जनाउ दिएको हो।
'अन्तर्राष्ट्रिय समुदायको बैठकले नयाँ संविधान लेखनका निम्ति सबै राजनीतिक दल र मुख्य सरोकारवालाको प्रयासमा सहयोग पुर्याउन एक ठाउँ छ,' वैठकपछि मंगलबार अन्तर्राष्ट्रिय समुदायको तर्फबाट संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि जेम्मी म्याकगोल्ड्रिकले जारी गरेको संक्षिप्त विज्ञप्तिमा भनिएको छ।
खिलराज रेग्मीको अध्यक्षतामा निर्वाचनका निम्ति अन्तरिम मन्त्रिपरिषद् बनेपछि नेपालमा रहेका कुटनीतिक नियोगहरूले समान धारणा बनाउन यस्तो संरचना बनाएका हुन्। उनीहरूले नियमित बैठक गरी यहाँको राजनीति र स्थितिबारे धारणा सार्वजनिक गर्दै आएका छन् ।