हत्या तथा आत्महत्या गरेर ज्यान गुमाउनेहरुको शव परीक्षण गर्दा खोटाङमा प्रहरी र स्वीपरले अवैध रकम असुली गर्ने गरेको खुलासा भएको छ।
जिल्ला अस्पतालमा खटिएका प्रहरी र शव चिरफार गर्ने स्वीपरको मिलेमतोमा एउटा शव परीक्षण गरेबापत रु दुई हजारदेखि रु पाँच हजारसम्म अवैध रुपमा रकम असुली गर्ने गरेको खुलासा भएको हो।
उनीहरुले मागेको जति रकम नदिए कामै रोकिने भएकाले बाध्य भएर भनेजति नै दिने गरेको पीडितको भनाइ छ।
‘टाढाबाट शव लिएर आइएको हुन्छ, जतिसक्दो छिटो काम होस् भनेर उनीहरुले भनेजति नै रकम दिने गरेका छौँ,’ एक पिडितले भने।
सेवाग्राहीका अनुसार उनीहरुले सामान्य अवस्थाको शव परीक्षण गर्दा रु दुई हजार तथा सडेको शव परीक्षण गर्दा रु पाँच हजार लिने गरेका छन्। उनीहरुले सेवाग्राहीबाट लिएको रकमको रसिद पनि दिँदैनन्।
अस्पतालमा खटिएका प्रहरी जवानले पाँच हजार नदिए तपाईंको काम हुन्न भनेपछि आफूले पाँचै हजार दिएको जलेश्वरीका पर्शुराम घिमिरेले बताए।
‘श्रीमतीले आत्महत्या गरेको चार दिन भइसकेको थियो, प्रहरीले पाँच हजार नदिए काम हुँदैन भन्यो, उसले भनेअनुसार गनिदिएपछि बल्ल काम गरिदिए,’ उनले भने।
अस्पतालमा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी जवान ज्ञानप्रसाद आचार्य दुई वर्षदेखि कार्यरत छन् भने अस्पतालका स्वीपर पदम विश्वकर्माले परीक्षणका लागि ल्याइएका शव चिरफार गर्ने गरेका छन्।
उनीहरुले सेवाग्राहीबाट रकम लिन पाउने प्रावधान नरहेको अस्पतालका प्रमुख डाक्टर नवलकिशोर झाले बताए।
उनले भने, ‘अस्पतालले संस्थागत रुपमा कसैसँग रकम लिएको छैन र उनीहरुले पनि लिन पाउँदैनन्।’
डाक्टर झाका अनुसार शव परीक्षण गर्ने डाक्टरका लागि नेपाल सरकारले नै एउटा शवबराबर ५०० र स्वीपरका लागि २०० दिने गर्दछ ।
उता, अवैध रकम असुलीबारे प्रहरी र अस्पताललाई खबर गरेर तत्काल रोक्न लगाउने प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए।
खोटाङमा यस आर्थिक वर्षमा मात्रै ७६ जनाको शव परीक्षण हुने गरको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ती मध्ये केहीको शव परीक्षण छिमेकी जिल्ला सोलुखुम्बु, भोजपुर, उदयपुर र ओखलढुङ्गामा समेत गर्ने गरिएको छ । रासस