प्रमुख चार राजनीतिक दलको सहमतिमा तथा नेपाल सरकारको आयोजनामा मङ्गलबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सर्वदलीय राजनीतिक सम्मेलन हुँदैछ ।
संविधानसभा रहेका र बाहिर रहेका दलका प्रतिनिधि सम्मिलित सो सम्मेलनले संविधानका अन्तर्वस्तुका छलफल गरी शीर्ष नेतासमक्ष प्रतिवेदन प्रस्तुत गर्नेछ । सम्मेलनमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) र नेकपा–माओवादीबाट पाँच पाँच र अन्य दलबाट एक एक प्रतिनिधिको सहभागिता रहने काँग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए ।
सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले आफूहरुलाई शान्ति मन्त्रालयका तर्फबाट मङ्गलबार बिहान साढे ८ बजे सम्मेलनमा सहभागिताका लागि पत्र प्राप्त भएको जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने सम्मेलनभा भाग नलिने निर्णय सार्वजनिक गरिसकेको छ ।