राप्रपा नेपालले संविधानसभा नियमावलीविपरीत तीन दलले आयोजना गरेको सर्वदलीय राजनीतिक सम्मेलनमा सहभागी नहुने घोषणा गरेको छ ।
पार्टी संसदीय दलको कार्यालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले ठूला तीन दलले हैकमवादी तरिकाले सम्मेलनको आयोजना गरेको आरोप लगाए।
नेपालको अन्तरिम संविधान र संविधानसभा नियमावलीविपरीत गरिएको सम्मेलन राजनीतिक नाटक मात्र भएको बताउँदै उनले विधि र प्रक्रियाअनुसार गरेको काममा मात्र राप्रपा नेपालको समर्थन रहने प्रष्ट पारे।
‘सार्वभौम संविधानसभाविरुद्ध समानान्तर संस्था खडा गर्न खोज्नु प्रजातान्त्रिक मूल्य मान्यताविपरीत छ’ अध्यक्ष थापाले भने।
काँग्रेस, एमाले र एमाओवादीले रणनीतिक स्वार्थ पूरा गर्न सम्मेलन गर्न लागिएको आरोपसमेत उनले लगाए।
आगामी माघ ८ गतेभित्र संविधान निर्माण गर्ने भए तत्काल अन्तरिम संविधान र संविधानसभा नियमावलीबमोजिम विधि र प्रक्रियाअनुसार निर्णय गरिनुपर्नेमा दलले जोड दिएको छ। रासस