नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले आइतबार राती गरेको केन्द्रीय समितिका आमन्त्रित सदस्यहरुको मनोनयन विवादमा परेको छ।
पार्टीकेा विधान अनुसार पार्टी केन्द्रीय समितिको कार्यकाल समाप्त हुनु केही दिन अघिमात्रै सभापति कोइरालाले पूर्व विद्यार्थी नेताहरु केशव सिंह, महेन्द्र शर्मा र कल्याण गरुङ सहित पार्टी सदस्यहरु यज्ञराज जोशी, दिलकुमारी राई र भोला चौधरीलाई आमन्त्रित सदस्यमा मनोनित गरेका थिए। त्यस अतिरिक्त कोइरालाले अरु तीन जना पूर्व विद्यार्थी नेताहरु गोविन्द भट्टराई, गुरु घिमिरे, प्रदिप पौडेल सहित दिनबन्धु श्रेष्ठ, श्याम घिमिरे र प्रतापराम लोहारलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।
आइतबार राती एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति कोइरालाले पार्टी विधान र नियमावलीको परिच्छेद ११ धारा ४९ (२) अनुसार पार्टी केन्द्रीय सभापतिको हैसियतले माथि उल्लेखित व्यक्तिहरुलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको बताएका छन्।
पार्टीको विधानमा आमन्त्रित केन्द्रीय सदस्यका बारेमा कुनै उल्लेख गरेका छैन। पार्टीको नियमावली २०६८ को पृष्ठ ५६ को परिच्छेद ११ दफा ४९(२) अनुसार, पार्टीको सवै तहका सभापतिले सम्वन्धीत कार्यसमितिमा आवश्यकता अनुसार बढीमा दश जनासम्म आमन्त्रित सदस्य आमन्त्रण गर्न सक्ने व्यवस्था उल्लेख गरिएको छ।
उक्त प्रावधान अनुसार पार्टीका सबै तहका सभापतिहरुले पार्टीलाई आवश्यकता पर्दा जुनसुकै पेशा, व्यवसाय र क्षेत्रका साथै पार्टीका सदस्यहरुलाई बैठकमा आमन्त्रीत सदस्यका रुपमा आमन्त्रण गर्न सक्ने भए पनि कुनै पनि व्यक्तिलाई स्थायी प्रकृतिको आमान्त्रित सदस्यका रुपमा मनोनित गर्न नसक्ने कांग्रेसकै एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा सेतोपाटीलाई बताए।
सभापति एवम् प्रधानमन्त्री कोइराला निकट मानिने केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले कोइरालाको नियुक्तिको बचाउ गर्दै भने, 'सबै तहका सभापतिले नियमावली अनुसार बढीमा दश जनासम्म स्थायी प्रकृतिकै आमन्त्रित सदस्यहरु मनोनित गर्न सक्ने व्यवस्था छ। नियमावलीको प्रावधानबारे जिज्ञासा राख्दा ढंगानाले भने, यो राजनीतिक दलभित्रको राजनीतिक निर्णय हो जसमा कानूनको कुरा मात्रै गरेर हुँदैन।