माओवादी उपाध्यक्षको जिम्मेवारीसहित पार्टी काममा सक्रिय रहिरहेको बेला एकसठ्ठी वर्षको उमेरमा पोष्टबहादुर बोगटीको देहावसान भएको छ। युद्धमैदानमा गोली खाएर सहादत प्राप्त गर्ने सिपाहीको जस्तो मृत्युवरण गरेका छन् उनले। जीवनभर सकसै सकस बेहोरेका उनले पार्टी पंक्तिमा कसैलाई नबिझाई प्राण त्यागेका छन्। कसैले स्याहारसुसार गर्न नपरेकाे स्वाभिमानी मरणा पाएका छन्।
माओवादीका शीर्ष नेतामध्ये बोगटी जति युद्धको सकस कमैले बेहोर्नुपर्यो। माओवादी आधार इलाका पश्चिम कमाण्ड (राप्ती, कर्णाली, भेरी)मा सबैभन्दा लामो समय नेतृत्व गरेका बोगटी सपरिवार युद्धमा त होमिए नै। उनका एक्ला छोरा रवि धादिङको सत्यदेवी गाविसमा सेनाको गोलीबाट मारिए। २०५८ सालमा छोराको हत्या भएपछि पनि बोगटी बिचलित भएनन्। पार्टी हाइकमाण्डले सुम्पेको जिम्मेवारी पूर्ववत सम्हाले। वियोगले उनलाई विचलित बनाएको देखिएन।
'युद्धमा मृत्यु सामान्य हो,' यो सेना वा विद्रोही लडाकुलाई प्रशिक्षित गर्दा पटकपटक भनिने हरफ हो। यस्ता आदर्श वाक्य कहेर भाषण छाँट्नु, उपदेश दिन् र बज्रपात पर्दा सहनु अलग हो।
आठ कक्षा पढेका बोगटीमा स्वअध्ययनले मार्क्सवाद, माओवाद मात्र होइन जीवन र जगतप्रतिको बुझाइ गहन बनाएको थियो। माओवादी विद्रोह उत्कर्षमा रहेको बेला पाँच जना कमाण्डरको नाम सामान्य व्यक्तिसम्मको जानकारीमा आयो।
प्रचण्ड (पुष्पकल दाहाल), किरण (मोहन वैद्य), बाबुराम भट्टराई, बादल (रामबहादुर थापा) र दिवाकर। राष्ट्रिय जीवनका अरु धेरै विधामा पनि चिनिएका भट्टराई बाहेक अरुको चिनारी उपनाम थियो। दिवाकर यिनै बोगटी हुन्। यी पाँचमध्ये कलेज वा विदेशको विद्यालय नपढेका बोगटी मात्र थिए।
पार्टी हाइकमाण्डका पाँच नेता मध्ये सबैभन्दा सामान्य परिवारका थिए दिवाकर। नुवाकोटको तुप्चे उनको घर हो। लेखपढ र अरू एक्स्पोजरमा सबैभन्दा निम्सरा उनी नै।
सपरिवार युद्धमा होमिने उनी एक्ला शीर्ष नेता हैनन्। भाग्यवश उनको जस्तो बज्रपात अरुलाई परेन। शीर्ष नेतामध्ये परिवारसहित भारतमा कम आश्रय लिएका पनि बोगटीलाई मान्छन् माओवादी जानकार।
मृत्युमा अधिक भावुक हुनु मानवीय गुण हो। मृतकको गुणको बढाइँचढाइँ र जयगान पनि बढी नै हुन्छ। बोगटी भने त्यस्ता नेता हुन् जसको जीवनकालमा नै पार्टी तप्कामा 'हाईहाई' थियो।
त्यति मात्र होइन, उनी त्यस्ता नेता हुन् जो बीसौं वर्ष पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेर पनि अति कम आलोचित भए। उनलाई पार्टीप्रति इमान्दार, सरल, समन्वयकारी, बार्गेनिङ नगर्ने, आफ्नो लागि केही नमाग्ने नेता मानिन्थ्यो।
एमाओवादीमा युद्धकालको शक्ति र खुला राजनीतिमा आएपछिको सत्ताको सबैभन्दा कम लाभांश प्राप्त गरेको नेताको छवि पनि बोगटीकै थियो।
...
बोगटी त्रिशूलीको माछा फारममा जागिरे थिए। कृषि मन्त्रालय अन्तर्गत नुवाकोटमै रहेको भेडा फारममा पनि उनले काम गरे। सरकारी जागिरमै रहँदा बोगटी नेकपा (पुष्पलाल समूह) को सदस्य बनेर भूमिगत कम्युनिष्ट राजनीतिसँग साइनो गाँसे। अघिल्लोपटक संविधान सभा सदस्य भएपछि निर्वाचन आयोगले तयार गरेको विवरण अनुसार उनी २०३४ सालदेखि राजनीतिमा सक्रिय भएका हुन्। पुष्पलाल समूह त्यागेर संयुक्त चौथो महाधिवेशनम आवद्ध भए।
रामराजाप्रसाद सिंह नेतृत्वको राष्ट्रिय जनवादी मोर्चाले २०४२ सालमा काठमाडौंमा बमकाण्ड गरेपछि भने बोगटीको राजनीतिक जीवनले महत्वपूर्ण मोड लियो। 'बोगटी कामरेड जेल पर्नुभयो,' एमाओवादीको नुवाकोट जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले भने, 'नौ महिनामा जेलबाट निस्केपछि भने उहाँ पूर्णकालीन बन्नुभयो।'
त्यसअघि नै चालिसको दशककै सुरुमा नेकपा (मसाल)बाट टुक्रेर मोहन वैद्य नेतृत्वमा नेकपा (मशाल) बन्यो। बोगटी त्यसमै आवद्ध भए। त्यो पार्टीको प्रभावशाली युवा सदस्य थिए– प्रचण्ड।
त्यसपछि बोगटी पार्टी संगठनम सक्रिय भएर लागे। दुःख गर्न सक्ने। एक्लै पनि संगठन गर्न हिँड्ने र इमान्दार नेता भनेर उनी केन्द्रीय नेतृत्वको नजरमा परिसकेका थिए। २०४४ सालमा अखिल नेपाल किसान संघको अध्यक्ष भए।
२०४४/४५ तिर बोगटी पार्टीको वैकल्पिक केन्द्रीय सदस्य भए। अनुशासन, आज्ञाकारिता र निरन्तरताले उनको 'करिअर' अघि बढ्दै गयो। २०४८ को निर्वाचनलाई उनको पार्टीले उपयोग गर्यो।
जनमोर्चाको ब्यानरमा गएको निर्वाचनमा नुवाकोटमा मशालले राम्रो मत ल्यायो।
२०४६ को प्रमुख जनआन्दोलनकारी शक्ति भएकाले कांग्रेस र एमालेको पक्षमा जनलहर थियो। नुवाकोट–१ मा राप्रपाका स्थापित उम्मेदवार प्रकाशचन्द्र लोहनीलाई जनमोर्चाले टक्कर दियो। कांग्रेसका रामशरण महत तेस्रो भए। यसको जस पनि बोगटीले पाए।
'चुनावपछि उहाँ नुवाकोट पुरै छाडेर कर्णाली इञ्चार्जमा जानुभयो,' खतिवडाले भने, 'जनयुद्ध शुरु भएपछि उहाँ धेरै रुकुम, रोल्पा र मध्यपश्चिममा खटिनुभयो।'
धनी, गरिब हुनु र छाती ठूलो गरेर हात माथि पार्न सक्नु फरक हो। उनी गरिब किसान परिवारका थिए। ज्यानबाजी लगाएर परिवारलाई भूमिगत बनाउनुअघि एउटा असल काम गरेछन्। 'भएको खेतबारी स्थानीय चण्डेश्वरी माध्यमिक विद्यालयलाई दान दिनुभयो,' खतिवडाले जानकारी दिए।
यो पनि पढ्नुहोस्
...
चालिसको दशकको मध्यमा लामो छलाङ मार्दै प्रचण्ड पार्टी नेतृत्वमा आएदेखि नै बोगटी महत्वपूर्ण जिम्मेवारीमा देखिन्छन्। युद्धको बेला रुकुम रोल्पाको जिम्मेवारी दिनु त्यसको सबैभन्दा ज्वलन्त प्रमाण हो।
युद्धकालमा उनीहरुको यो राजनीतिक भरोसा कुटुम्बमा परिणत भयो। बोगटीकी कान्छी छोरी प्रभाले प्रचण्ड पुत्र प्रकाशलाई बरमाला पहिर्याइदिइन्।
'छोराका लागि असल जीवनसाथी पाए हुन्थ्यो भन्ने प्रचण्डको मनोदशा बुझेर दुवै परिवारको मञ्जुरीमा सम्वन्ध जोडियो,'माओवादीका एक पूर्व केन्द्रीय सदस्यले भने।
प्रभा र प्रकाशको सम्बन्ध दिगो भएन। कामरेडबाट सम्धि भएका उनीहरु फेरि कमरेडकै साइनोमा सीमित भए।
उसै हाम्रो समाजमा सम्धि सबैभन्दा अप्ठेरो साइनो हो। त्यहाँमाथि छोराछोरीको घर बिग्रिएपछि यो औपचारि\कतामा पनि सीमित रहँदैन। तर, उनीहरुकै शब्दमा 'महान उद्देश्य' बोकेर हिँडेका प्रचण्ड र बोगटीको पार्टीको नाता सम्धिभन्दा धेरै गाढा थियो। छोरा र छोरीको पारापाचुकेले सम्बन्धमा दरार ल्याएन। बोगटी पूर्ववत प्रचण्डका सबैभन्दा सहयोगी र विश्वासिला भए।
स्वास्थ्य विज्ञानको युगमा अल्पायुमै भएको बोगटीको आकस्मिक निधनले प्रचण्डलाई परिवारजत्तिकै आघात परेको ठान्छन् पार्टीका नेताहरु।
हुन त यो वर्ष प्रचण्डलाई शोकैशोक परेको छ। चुनावमा पार्टी तेस्रो भएको चोट सहिरहेकै छन्। छोरी ज्ञानुले अल्पायुमै छाडेर गइन्। आफ्ना छोराछोरी हुर्काउनेदेखि अरु भरथेग गरेकी सासुआमा बितेको पैँतालिस दिन पनि भएको छैन।
प्रचण्डसँग यति निकट हुँदाहुँदै पनि पार्टीभित्रको विपक्षी गुट वा नेताले बोगटीलाई तारो बनाएको सुनिएन। उनको सादा जीवन नै रक्षा कवच भइदिएको ठान्छन् धेरै।
'कम्युनिष्ट पार्टीमा सम्बन्धहरु कि देवत्वकरण कि दानवीकरण गरिन्छ,' नुवाकोटमा हेडसर हुँदादेखि नै बोगटीलाई जानेका माओवादी नेता राम कार्की भन्छन्, 'उहाँका भने कोही पनि शत्रु थिएनन्।'
विलक्षण गुणहरुले गर्दा बोगटीले यस्तो सुबिधा पाएका हैनन्। विचारको आफै नेतृत्व नगर्ने र पार्टीले लिएको लाइन इमान्दारीपूर्वक कार्यान्वयन गर्ने हुँदा उनी कसैको पनि कसिङ्गर नबनेका हुन्।
माओवादीको दुईथरि सत्ता रह्यो। एउटा बन्दुकको बलमा बनेको। अर्को निर्वाचन जितेर बनेको सरकार। दुवै सत्तासँग पैसा, मोज, मस्ती, सान, वैभव जोडिएर आयो। यो बैगुन बोगटीमा अत्यधिक कम देखियो।
उनी मन्त्री रहँदा छोरीहरु कि मोटरसाइकल चढे कि सार्वजनिक सवारीमै हिँडे। जेठी प्रतिभा अझै दाङमै छिन्।
प्रभाले अरु धेरै पत्रकार जस्तै रिपोर्टिङमै दौडिन्थिन्। सत्ताको तुरुप लगाएर बाजी मार्न हिँडेको विवाद खासै आएन।
बोगटी ऊर्जा, पर्यटन र थोरै समय सञ्चार मन्त्री भए। पद र विवादमा सँगसँगै आउँछ। उनी पनि अपवाद भएनन्। तैपनि आलोचना भने प्रचण्डकै भयो।
उनको असामयिक निधनले पार्टीले जस्तोसुकै प्रकृतिको विवाद समाधान गर्न तत्पर हुने तर जस नखोज्ने एउटा समन्वयकारी नेता गुमायो। त्यो भन्दा ठूलो क्षति प्रचण्डलाई पुग्यो। उनले आफ्नो पहिलो 'रिङ'का विश्वासपात्र गुमाए जसले कहिल्यै पनि प्रचण्डको पद र शक्तिमा धाबा बोल्ने सामर्थ्य राख्दैनथे।
भेन्टिलेटरको सहायताले तीन दिनदेखि कृतिम जीवन बँचाइएको बोगटीको निधनको औपचारिक घोषणा बिहान भयो। लगत्तै पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले लेखेको टि्वट यस्तो छ, 'सहयोद्वा क. पोष्टबहादुर बोगटीको आज बिहान दुखद निधन भएको छ। उहाँप्रति हार्दिक श्रद्धासुमन र परिवारजनमा समवेदना! अन्तिम लालसलाम क. दिवाकर।'