संसद सचिवलायबाट आइतबार साँझ मैतीदेविस्थित आफ्नो निवासमा आफू तिल्मिलाउँदै पुगेको गुनासो राष्ट्रिय जनमोर्चाका सभासद चित्रबहादुर केसीले गरेका छन्।
सबै राजनीतिक दलका नेताहरुबीच छलफल गर्न बोलाएको बैठकभित्रको परिदृश्य र उनीहरुले बाहिर सञ्चारकर्मीहरुलाई दिएको प्रतिक्रिया सुन्दा केसीलाई आइतबार असह्य भयो।
संविधानका विवादस्पद विषयहरुमाथि संविधानसभामा रहेका सबै राजनीतिक दलका शीर्ष नेताहरु लगायत स्वतन्त्र सभासदसँग छलफल गर्न संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले आइतबार साँझ सिंहदरबारमा बैठक डाकेका थिए।
बैठकमा सहभागी केसीलाई उक्त बैठकका बारेमा जानकारी लिन साँझ फोनसम्पर्क गर्दा केसीले अरु दिनको तुलनामा भिन्दै र रुखो शैलीमा सेतोपाटी संवाददातासँग भने, ‘यसअघि के भएको थियो र आजको बैठकमा के हुन्छ?’
विवादित विषयमा सहमति जुटाउन तपाईँँहरु जुट्नु भएको थियो, त्यसमा के भयो भन्ने प्रश्नको जवाफमा केसीले अलि सम्हालिदै भने, ‘आज मेरो मुड ठिक छैन।’ त्यसको कारण उल्लेख गर्दै केसीले भने, ‘प्रमुख राजनीतिक दलका नेताहरु भित्र बैठकमा मूल विषयमा सहमति खोज्न कोही केन्द्रित हुँदैनन। अनि बाहिर निस्केर सञ्चारमाध्यममार्फत सर्वसाधारण जनता झुक्याउन आजको बैठक संविधानका मुल मुद्दाहरुमा सहमति जुटाउन केन्द्रित रह्यो भन्छन्। यो भन्दा जनताको आँखामा छारो हाल्ने काम केही हुन सक्छ?’
अरुदिन ठट्यौलो पारामा उखान र टुक्का प्रयोग गर्दै बोल्ने केसीले प्रमुख दलका शीर्ष नेताहरुप्रति आक्रोशित हुदै भने, ‘यी राष्ट्रिय ठगहरुले फेरि पनि मुलुक र जनतालाई मुर्ख बनाउँदै छन्। माघ ८ गतेभित्र नयाँ संविधान दिन पनि नसक्ने भए र जनतालाई फेरि पनि छल्ने भए।’
बैठकभित्र र बाहिरको यो घटनाले गर्दा आफू तिल्मिलाएको बताउँदै उनले भने, ‘दिउँसोको पानीले सडक हिलाम्य भएर खाल्टा खुल्टीमा पानी जमेको रहेछ तर म घरसम्म आउदा कसरी आइपुगे थाहै भएन।’ घर आइपुगेपछि मात्रै आफ्नो जुत्ता र पाइन्ट पानी र हिलोले ढाडिएको थाहा पाएको उनले बताए।
संविधानका विवादस्पद विषयहरुमाथि सहमति निर्माण गर्न अब जम्मा ६ दिन बाँकी रहदा आजको बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले के गरे त भन्ने प्रश्नको जवाफमा उनले भने, ‘हिजोअस्तिसम्म त प्रमुख दलका नेताहरुले अब जतिसक्दो चाँडो विवाद समाधान गर्ने भन्दा होला त भन्ने लागेको थियो। तर म पनि मुर्ख नै भएछु। आजबाट त मेरो पनि चेत खुल्यो यी दलका नेताहरुको मति र गति हेर्दा मलाई त यिनीहरुले भदौ २१ सम्ममा सिन्को पनि भाँच्दैनन् भन्ने लागेको छ।'
बैठकभित्र भएको छलफलबारे गरेको थप प्रश्नको जवाफमा केसीले सहमति निर्माण गर्न र सहमति नभए प्रक्रियाद्धारा संविधान निर्माण गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनको आड लागेका ‘जातीय र क्षेत्रीय पृथकतावादी समूह’ प्रमुख बाधक बनेको आरोप समेत लगाए।
संविधान निर्माणमा सहमति कायम गर्न चुनौतीको रुपमा देखा परेको संघियता र राज्य पुर्नसंरचनाकै विषय बढी जटिल बनेर आएको उनले दाबी गरे।
घुमाउरो पारामा प्रचण्डले जातीय आधारमा एकल पहिचान सहितको राज्य निर्माण गर्न र आत्म निर्णयको अधिकार सहितको स्वायत्त प्रदेश निर्माणमा सुनिश्चितता नभए संविधान निर्माणमा सहमत पनि नहुने र असहमतिका विषयहरु प्रक्रिया (मतदान)बाट पनि टुंगो लगाउन नदिने अडानले भदौ २१ भित्र सहमति कायम हुन नसक्ने उनले बताए।
मंसिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनमार्फत जनताले दिएको म्यान्डेट अनुसार पनि प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले एमाओवादी लगायत मधेसी र जातिय दलहरुको माग अनुसार एकल जातिय पहिचान र आत्मनिर्णयको अधिकार सहितको स्वयत्त प्रदेश निर्माणमा सहमति जनाउन नसक्ने उनले दावी गरे।
‘कहि कतैबाट दबाब आएर कांग्रेस र एमाले एमाओवादीको अगाडि लत्रिएछ भने मात्रै नत्र एमाओवादीको नाजायज माग उनीहरुले पनि मान्दैनन,’ उनले भने।
संविधानसभाको नियमावली निर्माण गर्दा सहमति हुन नसकेका विषयलाई प्रक्रियामार्फत टुग्याउने भनिएको भए पनि अहिले एमाओवादीले बखेडा झिक्दै पहिलो संविधानसभामा कांग्रेस एमाले प्रक्रियामा जान नमान्ने अहिले प्रक्रियामा कसरी जान सकिन्छ भनि अत्तो थापिरहेको उनले बताए।
त्यसका अलवा एमाओवादीले माग गर्दै आएको उच्चस्तरिय राजनीति समितिको मागले पनि संविधान निर्माणमा वाधा खडा गरेको उनले दावी गरे।
‘यसले सिंगो संविधानसभा नै अनिर्णयको बन्दी बन्ने र जनताले फेरी पनि माघ ८ भित्र नयाँ संविधान नपाएर धोका पाउने प्रष्ट भएको छ,’ उनले भने।
प्रकाशित मिति: 2014-08-31 21:35:02