यही भदौ १३ देखि २२ सम्म टर्कीको इजमिर महानगरको कुलतुर्क पार्क प्रदर्शनी केन्द्रमा हुन लागेको ८३औँ इजमिर अन्तर्राष्ट्रिय प्रदर्शनीमा भाग लिन उद्योगमन्त्री कर्णबहादुर थापा बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
टर्कीका विज्ञान, प्रविधि तथा उद्योगमन्त्री फिक्री इसिकको औपचारिक निमन्त्रणमा सो प्रदर्शनीमा भाग लिन जान लागेको जानकारी दिँदै उद्योगमन्त्री थापाले विश्वका प्रतिष्ठित उद्योगहरूले भाग लिने प्रदर्शनीमा विभिन्न देशका उद्योग मन्त्रीको सहभागिता रहने बताए ।
प्रदर्शनीमा भाग लिइसकेपछि त्यहाँका मन्त्री इसिकसँग द्विपक्षीय वार्ता हुने, द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (विप्पा)का विषयमा पनि छलफल हुने जनाइएको छ । उद्योगमन्त्री थापाले टर्कीले विप्पाको लागि प्रस्ताव गरेको जानकारी दिँदै त्यस विषयमा नेपालका तर्फबाट कस्तो प्रावधान राख्ने भन्ने विषयमा कुराकानी हुने जानकारी दिए ।
मन्त्री थापासँग उद्योग मन्त्रालयका सह सचिव महेश्वर न्यौपाने पनि गएका छन् । मन्त्री थापा यही भदौ २० गते स्वदेश फर्कने कार्यक्रम छ । रासस