राष्ट्रपति डा रामवरण यादवले निर्धारित समयमै संविधान बनाउन संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित एक समारोहमा गायक मोहन राईद्वारा स्वरबद्ध गीति सङ्गह ‘कस्तो सपना’ को लोकापर्ण गर्दै उनले भने, “सबै पार्टीलाई मिलाएर समन्वय गरी समयभित्रै संविधान दिन संविधानसभाका अध्यक्षलाई आग्रह गर्न चाहन्छु ।”
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलगायत प्रमुख राजनीतिक दलका नेता सहभागी भएको उक्त समारोहमा राष्ट्रपतिले त्यस्तो आग्रह गरेका हुन् । राष्ट्रपति डा यादवले मुलुकको कला र संस्कृतिको संरक्षणमा गीत सङ्गीतको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मधुर स्वरका धनी युवा गायक राईको गीति सङ्ग्रहले मानवीय मूल्य, मान्यता र देशप्रेमको भावनालाई उजागर गरेको चर्चा गरे ।
“संस्कृति मासिए हामी मासिन्छौँ र इतिहास विर्सिए हामी भासिन्छाैं, भन्ने कुरालाई हाम्रा गीत सङ्गीतले सम्बोधन गर्न सक्नुपर्दछ । गीतकार सङ्गीतकारले समाजमा रहेको सुख दुःख, पीडा, बेदना र मूल्यमान्यतालाई उजागर गरेको हुन्छ । ”–राष्ट्रपति डा यादवले भने । गीति सङ्ग्रहका रचनाकार पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको राजनीतिकभन्दा पृथक कार्यको चर्चा गर्दै उनले यस कार्यले गीत सङ्गीतको क्षेत्रमा नयाँ आयाम थपिनेछ भने । रासस