राजनीतिक दलका नेताहरुले नयाँ संविधान निर्माणको लागि सहमतिमा सबैले जोड दिनु पर्ने बताएका छन।
यूवा संघ नेपाल अन्तर जिल्ला कमिटि मोरङले शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको संविधान निर्माणमा समग्र चुनौतिका विषयहरु विषयक अर्न्तक्रियामा बोल्दै नेकपा एमालेका नेता शंकर पोख्रेलले पहिलो संविधानसभा भन्दा अहिले उपयूक्त बातावरण भएकोले सहमतिका साथ संविधान निर्माण गर्न जुट्नु पर्ने बताए।
उनले सहमतिलाई केन्द्रमा राखेर संविधान निर्माण गर्नु पर्ने भन्दै संघीयता, शासकीय स्वरुप , न्यायपालिका लगायतका विषयमा तात्विक विवाद रहेको भन्दै जति सक्दो सहमतिमै विषयहरु टुङग्याउनु पर्ने बताए। उनले संघियतामा साझा पहिचान सहितको सात प्रदेशमा जानु पर्ने धारणा समेत राखे।
नेपाली काग्रेसका सभासद भिष्मराज आङदाम्बेले प्रतिपक्षी एमाओवादी, मधेसी र सानादलहरु संविधान निर्माण गर्न संबेदनशिल भएको बेला सत्तारुढ दलहरु नेपाली काग्रेस र नेकपा एमाले नै असंयममित भएको आरोप लगाउँदै प्रक्रियाबाट संविधान बनाउने नाममा प्रकृया नविथोल्न आग्रह गरे।
उनले आगामि तीन साताभित्र संविधानको पहिलो मस्यौदा बनाउनु पर्ने भएकोले यो बेलामा सबै संबेदनशिल भएर छलफलमा जुट्नु पर्ने सुझाव दिदै असहमति भएका विषयमा पनि सबैले दलीय भावना भन्दा माथि उठेर अधिकतम सहमतिका साथ अघि बढ्नु पर्ने बताए। उनले संविधानको पहिलो मस्यौदा निर्माण हुने तीन साताको समयमा भने सबै संयमित भएर अघि बढ्नु पर्ने समेत बताए।
एकीकृत नेकपा माओवादीका नेता खिमलाल देबकोटाले संविधानसभालाई विगत जस्तै संसद बनाए फेरि पनि संविधान नबन्ने दावी गर्दै संविधान निर्माणमा दुई ठूला दल नेकपा एमाले र नेपाली काग्रेस लचिलो भएर प्रस्तुत हुनु पर्ने बताए। उनले संविधान निर्माणमा दलीय अडान नलिई सहमतिमा अघि बढ्न समेत सुझाव दिए।
सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान नभएर संविधान बनाउन खोजेको नभई राम्रो संविधान बनाउन लागेको भन्दै सहमतिमा संविधान निर्माण गर्नु पर्ने बताए। उनले आन्दोलनको भावनालाई तुहिन नदिने गरि राष्ट्रिय हितलाई केन्द्रमा राखेर दलीय अडानमा लचक भएर संविधान निर्माण गर्न लाग्नु पर्ने आवश्यकता औल्याए।उनले यूवाहरुलाई संविधान निर्माणकोलागि दवाव सृजना गर्न समेत आब्हान गरे।
यूवा संघका अध्यक्ष महेश बस्नेतले भाषा र शब्दमा विवाद नगरी साझा धारणामा पुगेर संविधान निर्माण गर्न आग्रह गर्दै संघीयतामा विवाद नगरी साझा राज्य बनाउने गरि सहमतिमा पुग्न आग्रह गरे। बस्नेतले यूवाहरु जहिले पनि परिवर्तनको पक्षमा रहेको जिकिर गर्दै राजनीतिक दलहरु खासगरि नेपाली काँगे्रस, एमाले , एमाओवादी र मधेशवादी दलहरु सहमतीमा लचिलो बन्नुपर्नेमा जोड दिए। उनले युवाहरुले नेताहरुलाई तोकिएकै मितिमा संविधान जारी गर्न दबाब दिने पनि बताए।