तोकिएको समयमै संविधान निर्माण गर्न सत्तारुढ प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले)बीच गहन छलफल सुरु भएको छ । हिजो छलफल भएपनि कुनै सहमति नभएका कारण आज पुन बैठक बस्न लागेको हो । बैठकमा मन्त्रिपरिषद्ले गर्ने २६ सभासद्को मनोनयन, रिक्त राजदूतको नियुक्तिलगायत विषयमा छलफल हुने काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
काँग्रेसका नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल काठमाडौँ बाहिर भएका कारण उपस्थित हुन नसक्दा शनिबार बिहान थप छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको सिटौलाले बताए ।
यस अघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै दलका शीर्ष नेताले संविधान निर्माणमा देखिएका असहमतिलाई सरोकार भएका सबैसँग छलफल गरी अघि बढ्ने सहमति गरेका छन् ।
बैठकमा संविधान निर्माण, सरकार सञ्चालनलगायत समसामयिक विषयमा दुवै दलका शीर्ष नेताबीच छलफल भएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीलाई जानकारी दिए । राष्ट्रपति अनुमोदनका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष ओलीले सरकार निर्माणका बेला दुवै दलबीच भएको सात बुँदे सहमति कार्यान्वयनका लागि भएको बताए ।