सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक विना निश्कर्ष टुंगीएको छ।
संविधानसभामा मनोनित गर्न बाँकी रहेका २६ सभासददेखि विदेशस्थित नेपाली दूतावासका लागि १६ राजदूतहरुको नियुक्ति र संयुक्त सरकारको सञ्चालन लगायतका समसामयिक विषयहरुमा आपसी छलफल गरी टुंगोमा पुग्न बसेको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले बालुवाटारमा शुक्रबार साँझ बोलाएको बैठकमा कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल अनुपस्थित रहेपछि बैठकमा कुनै विषयमा पनि औपचारिक छलफल नभएको कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले बताए।
वरिष्ठ नेता देउवा र उपसभापति पौडेल सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले थुनिएको सुनकोशी नदिको निरिक्षणका लागि गएकोले दुई दलका नेताहरु शनिबार बिहान नौ बजे पुन बैठक बस्नेगरी वालुवाटारबाट निस्कीनु भयो, श्रेष्ठले भने।
तर बैठकबाट निस्कदै गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालनमा दुई दलविच आपसी सहमति र समझदारी बढाउदै संविधान निर्माणको गति दिन आफूहरु भेला भएको बताएका थिए। एमालेले पछिल्लो समय उठाउदै आएको राष्टपति र उपराष्टपतिको संसदबाट अनुमोदनको विषयमा सोधीएको प्रश्नको जवाफमा ओलीले भने, सहमति भनेको कार्यान्वयन गर्नका लागि गरिन्छ।
प्रधानमन्त्रीमा कांग्रेस सभापति कोइरालालाई समर्थन जनाउनु पूर्व दुई दलका नेताहरुविच भएको ७ बुँदे सहमतिमा उनीहरुले राष्टपति र उपराष्टपतिको अनुमोदन गर्ने सहमति गरेको भए पनि पछिल्लो समय कांग्रेसले यो विषयलाई असान्दर्भिक भन्दै आएको छ।
दुईदलका नेताहरुले आपसी समझदारी कायम गर्दै सभासद मनोनयन, राजदूत नियुक्ति, सरकारको सञ्चालन, संविधानका विवादित विषयहरुमा आपसी सहमति कामय गरी निधारित समयमा संविधान निर्माण गर्ने विषयमा छलफल शुरु भएको जानकारी कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए।
संविधानसभाको निर्वाचनपछि सरकार गठन भएको झण्डै ७ महिना वित्न लाग्दासमेत २६ जनाको मनोनयनमा सरकार र राजनीतिक दलहरुले चासो नदेखाएपछि गत साता सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री कोइरालासहित एमाले र एमाओवादीका अध्यक्षलाई भेटी संविधानसभालाई तत्काल पूर्णता दिन दवाव दिएका थिए।
प्रमुख राजनीतिक दलहरुबीच संविधानसभामा मनोनयन गर्नु पर्ने २६ जनामा संविधानसभामा दलहरुको उपस्थितीतका हिसाबले सिट बाँडफाट गरीसकेका भए पनि मनोनयन गर्न सकिरहेका छैनन।