आइतबार बस्ने मन्त्रिपरिषदको बैठकबाट २२ सभासदको मनोनयन गर्न बालुवाटारमा शुक्रबार दिउँसो कांग्रेस र एमालेको बैठक बस्दै छ।
आइतबारको मन्त्रिपरिषदको बैठकबाट २६ मध्ये २२ सभासदको मनोनयन हुनेछ। २२ मध्ये कांग्रेसबाट ९, एमालेबाट ८, एमाओवादीबाट ४ र राप्रपा नेपालबाट एक सभासद्को मनोनयन हुनेछ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सेतोपाटीसँग कुरा गर्दै भने, 'अहिले संविधानसभामा दलहरुको आकार (५७५) लाई आधार बनाएर सरकारले सभासदको मनोनयन गर्न लागेको हो।'
यी चारबाहेक अन्य कुनै पनि दलले आफैँ प्राप्त गरेको मतअनुसार एउटा सभासद पनि पाउने नदेखिएपछि सरकारले साना दलहरुलाई मिलेर आउन भनेको छ। साना दलहरुबीच छलफल भई टुंगोमा पुग्न समय लाग्ने हुनाले २२ जनाको मनोनयन आइतबार नै हुने बालुवाटार स्रोतले बताएको छ।
शुक्रबारका लागि बोलाइएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस र एमालेलाई छलफलका लागि पर्याप्त समय दिन आइतबार सारेका हुन्। सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार भएका कसैलाई पनि २६ जनामा मनोनयन नगर्ने सहमति पार्टीहरुबीच बनेको छ।
संविधानसभामा उपस्थित नभएका जातजाति र राष्ट्रिय जीवनमा चिनिएका व्यक्तिहरुको प्रतिनिधित्व हुनेगरी २६ जनाको मनोनयन हुनेछ। 'राष्ट्रिय जीवनमा चिनिएका भनिए पनि पार्टीसँग आवद्ध व्यक्ति नै मनोनयनमा पर्नेछन्,' बालुवाटार स्रोतले भन्यो।
कांग्रेसबाट मनोनयन हुने ९ जनामध्ये ४ जनाको सूची पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई थमाइसकेका छन्। 'अध्यक्ष ओलीले नै नेताहरुसँग समन्वय गरेर हाम्रो लिस्ट तयार पार्ने सहमति बनेको छ,' एक एमाले नेताले बताए।
कांग्रेस र एमालेबीच बालुवाटारमा शुक्रबार दिउँसो ४ बजे सुरु हुने बैठकमा दुवै पार्टीका पाँचपाँच जना शीर्ष नेताहरुको उपस्थिति रहनेछ। कांग्रेसबाट प्रधानमन्त्री कोइराला, देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला सहभागी हुनेछन्।
'कांग्रेस र एमालेबीचको वार्तालाई निरन्तरता दिनुपर्ने भएकाले पछि वार्तामा बस्ने सम्भावित नेताहरुलाई पनि प्रधानमन्त्री कोइरालाले बोलाउनुभएको छ,' बालुवाटार स्रोतले भन्यो।
२६ सभासदका अलावा कांग्रेस र एमालेबीच सरकार गठनका समयमा दुई पार्टीबीच भएको सातबुँदे सहमति र संविधानका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्। 'संविधान निर्माणमा सहमति जनाउने समय केही हप्तामात्र बाँकी रहेकाले दुई पार्टीबीच गहिरोसँग छलफल अगाडि बढाउनुपर्छ भन्नेमा हामी पुगेका छौँ,' ती एमाले नेताले भने।