काठमाडौं, चैत ३० (सेतोपाटी)– नेपाली कांग्रेस नेतृत्वले हालै सम्पन्न महासमिति बैठकमा नेपाललाई ‘पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र’ घोषित गर्न उठाइएको मागप्रति केन्द्रीय समितिमा छलफल गरी आधिकारिक धारणा जारी गर्ने बताएको छ ।
झन्डै एकतिहाई महासमिति सदस्यले हस्ताक्षरसहित ‘८२ प्रतिशत हिन्दु धर्मावलम्बी बसोबास गर्ने मुलुक हिन्दु राष्ट्र नै हुनुपर्ने’ माग नवलपरासीको त्रिवेणी महासमितिमा उठाएका थिए ।
‘साथीहरूले हिन्दु राष्ट्रको माग राख्नुभएको छ,’ कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सेतोपाटीसँग भने, ‘उहाँहरूको चासोबारे केन्द्रीय समितिमा छलफल हुनेछ ।’
महासमितिमा राजनीतिक प्रस्तावमाथि छलफल क्रममा आएको सुझाव समेटी त्यसलाई अन्तिम रूप दिने जिम्मेवारी पौडेल नेतृत्वको समितिलाई नै दिइएको छ ।
सेतोपाटीलाई हस्ताक्षरकर्ताको आंशिक सूची प्राप्त भएको छ । २ सय ५५ जनाको सूचीमा मधेसी र जनजाति सहित एकजना मुस्लिम प्रतिनिधिको हस्ताक्षर छ ।