बिहीबार न्याय परिषद्ले सिफारिस गरेका पाँच अस्थायी न्यायाधीशले शुक्रबारबाटै सर्वोच्च अदालतमा काम सुरु गरेका छन् । न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा नियुक्त पाँच अस्थायी न्यायाधीशले आजैदेखि कार्यभार सम्हालेका हुन् । शुक्रबार प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माबाट पद तथा गोपनियताको शपथ लिए लगत्तै न्यायाधीशहरुले काम सुरु गरेका हुन् ।
संसदीय सुनुवाई हुन नसकेपछि मंसिरमा सर्वोच्च अदालतबाट यी पाँचैजना न्यायाधीश अस्थायीबाटै घर फर्किएका थिए । चैत ३० गते संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि बाधा अड्काउ फुकाउ राष्ट्रपतिबाट भएको थियो । बाधा फुकेपछि परिषद्ले पहिला घर फर्किएकै पाँच अस्थायीलाई थप एक वर्षका लागि अस्थायीमा नियुक्ति गर्ने निर्णय बिहीबार साँझ गरेको थियो ।
अब सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मासँगै दसजना न्यायाधीश भएका छन् ।