सेना समायोजन विशेष समितिको सचिवालयमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले शान्ति प्रक्रियालाई औपचारिक रुपमा टुंगो लगाउने निर्णय गरेको छ ।
शुक्रबार सचिवालयमा बसेको बैठकले सेना समायोजनको काम अन्तिम चरणमा पुगेको भन्दै शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने निर्णय बैठकले गरेको हो ।
बैठकले शान्ति प्रक्रियालाई अन्तिम रुप दिएर शुक्रबारै सेना समायोजन विशेष समितिको बैठकले सेना समायोजनसम्बन्धी गरेका निर्णय कार्यान्वयनको जिम्मा अन्तरिम मन्त्रिपरिषद्लाई दिने भएको छ । सेना समायोजन विशेष समितिको यो बैठक सँगै आजैबाट खारेज हुने भएको छ ।
पुष्पकमल दाहाल प्रधानमन्त्री भए देखि नै समितिको संयोजक प्रधानमन्त्री हुने प्रावधान रहेको थियो । तर, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिए पनि उनै समितिको संयोजक भएको भन्दै कांग्रेस नेता इश्वर पोखरेलले अघिल्लो साता भट्टराईको संयोजकत्वको विरोध गरेका थिए ।
समितिको यो बैठक अन्तिम हुने भन्दै अन्य सदस्यले भने भट्टराई कै नेतृत्व स्वीकारेका थिए । गत वर्ष भट्टराईकै नेतृत्वमा सेना समायोजन गरेर शान्ति प्रक्रियाको गाँठो फुकाउने निर्णय भएको थियो ।
भट्टराई नेतृत्वको बैठकले सेनाको दर्जा निर्धारण, शिविरमा रहेका लडाकु समायोजनको विधि, प्रक्रिया र मापदण्ड निर्धारण गर्ने निर्णय गरेको थियो ।
समितिका अन्य सदस्यले भट्टराईकै नेतृत्व स्वीकारेपछि शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पु¥याउन शुक्रबार समितिको बैठक बसेको थियो । ३२ हजार माओवादी लडाकुबाट सुरु भएको समायोजन प्रक्रिया १९ हजार हुँदै सेना समायोजन हुनेमा १४ सय पुगेका थिए । थुप्रैले स्वेच्छिक अवकाश लिएका थिए ।